राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग

पोखरा । उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन्।

विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका गतिविधिलाई प्रत्यक्षरूपमा जान्ने, बुझ्ने र भोग्ने अवसर पाएका उनले २००७ सालको प्रजातन्त्रको स्थापना हुँदै २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि २०६२/०६३ को आन्दोलनका अनुभव र भोगाइ सँगालेका छन् ।

नेपाली जनताको स्वतन्त्रता एवं परिवर्तनका प्रत्येक आन्दोलनमा पोखराले नेतृत्वदायी भूमिका निर्वाह गरेको आचार्यले बताए । उनका अनुसार २००७ साल फागुन ७ गते जहानियाँ राणशासनको समाप्ति भई प्रजातन्त्र स्थापना हुनुपूर्व पोखरा क्षेत्रमा धनशमशेर राणा यहाँका बडाहाकिम थिए । तिनताकाको पोखरामा रातो माटाले पोतिएका कच्ची घर, फराकिला चौर, ढुङ्गा बिच्छाइएका सडक, सडकका छेउमा बाटुले चौतारा आदि थिए ।

सेती नदीमा काठका मुढा राखेर आवतजावत गर्नुपर्ने तत्कालीन पोखरामा विन्ध्यवासिनी, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, साँघुको मुखजस्ता ठाउँ यहाँका मुख्य बस्ती एवं बजार थिए।

पोखरामा राणाशासनको निरङ्कुशताका विरुद्धमा जनचेतना अभिवृद्धि गर्न र उक्त अभियानलाई साकार पार्न रामानन्द योगी (तत्कालीन अवस्थामा कानो जोगी भन्ने गरिएको), प्रेमचैतन्य ब्रह्मचारी लगायतको ठूलो भूमिका रहेको आचार्यले जानकारी दिए।

उनीहरूले तत्कालीन समयमा छरेका पर्चाले राणा विरोधी गतिविधिमा जनचेतना अभिवृद्धिमा ठूलो योगदान पुर्याएको थियो।

जहानियाँ राणाशासनसँगै शुरु भएको निरङ्कुशताका विरुद्धमा सङ्गठित बन्ने उद्देश्यका साथ विसं १९८८ मा खुलेको प्रचण्ड गोर्खा, १९९३ मा खुलेको प्रजापरिषद्, १९९४ मा खुलेको नागरिक अधिकार समितिले गरेका विभिन्न गतिविधिको पनि पोखरामा प्रभाव परिरहेको थियो।

राणा विरोधी गतिविधि बढ्दै जाँदा १९९७ माघमा शुक्रराज, गङ्गालाल, धर्मभक्त र दशरथ चन्दलाई फाँसी दिइयो भने विरोधमा उत्रेका कृष्णप्रसाद कोइराला भारत निर्वासन हुन बाध्य भए।

उक्त समयमा राणाको अन्याय, अत्याचारका विरुद्धमा गोर्खे खबर कागज, युगवाणी, नेपाल पुकारजस्ता पत्रपत्रिकाका माध्यमबाट जनचेतना अभिवृद्धिका कामलाई अघि बढाइयो । राणाविरोधी गतिविधि बढ्दै जाँदा त्यसको प्रभाव पोखरेली युवामा पनि परेको थियो ।

यसै क्रममा २००४ सालमा भएको जयतु संस्कृतम् आन्दोलनमा त पोखराका केही युवा प्रत्यक्ष सहभागी भएको आचार्यले जानकारी दिए।

जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएको भन्दै पोखराका मीनराज पराजुली, यदुनाथ अधिकारी, विष्णु पहारी, टेकनाथ बराललगायतका युवा पाठशालाबाट निष्कासनमा परेको प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली बताउँछन् ।

“जयतु संस्कतम् आन्दोलनमा सहभागी भएकै कारण दाजु मीनराजसहित उहाँका साथीहरू पाठशालाबाट निष्कासनमा परेका थिए,” तत्कालीन समयको अनुभव सुनाउँदै ८५ वर्षीय पराजुलीले भने, “त्यो समयमा चेतनाको अभाव पनि थियो, निष्कासन हुने विद्यार्थीका अभिभावकले यी उरन्ठेउलाहरूले नै गल्ती गरे होलान् भन्दथे।”

जयतु संस्कृतम् आन्दोलनका साथै २००४ सालमा भारतमा बस्ने नेपाली युवाले बिपी कोइरालाको नेतृत्वमा गठन गरेको राष्ट्रिय काँग्रेस, गिरिजाप्रसाद कोइरालाको नेतृत्वको विराटनगरको जुटमिल आन्दोलन आदिमा पोखरेली युवाको सक्रिय सहभागिता थियो।

लीलाभक्तका अनुसार २००७ साल पुसको २१/२२ गतेतिर पोखरामा पहिलो पटक प्रेम हाराङ, उत्तरकुमार पालिखे र भारतीय वैद्य राणाका विरुद्धमा काँग्रेसको झण्डा लिएर राणा विरोधी नारा लगाउँदै घोडामा चढी नालाको मुखबाट निस्किए।

उनीहरुलाई तत्कालीन प्रशासनले नियन्त्रणमा लिएर भोलिपल्ट मात्रै छाडेको थियो । राणाकै विरुद्धमा दोस्रो दिन पोखरामा निस्केका ठानेश्वर कोइराला, माधव बाँस्तोला, मानबहादुर कार्की, केशव बरालसहितका छ जनालाई प्रशासनले पुनः पक्राउ गर्यो।

तेस्रो दिन पोखरेलीको ठूलो समूह विरोधमा उत्रेपछि तत्कालीन वडाहाकिम धनशमशेर दरबारबाट बाहिर निस्किएर तत्कालीन आन्दोलनरत काँग्रेसको सदस्यता लिएको लीलाभक्तले जानकारी दिए ।

पोखरामा भएको उक्त आन्दोलनमा मोहन शमशेरका आठ पहरियाले भने विभिन्न तवरबाट रोक्ने प्रयास गरेका थिए। तत्कालीन समयमा पोखराबाट गएका युवाले नुवाकोट कब्जामा समेत योगदान गरेको लीलाभक्तको भनाइ छ।

पोखरामा सर्वसाधारणमा चेतना अभिवृद्धि गर्न २००४ सालमा बाटुलेचौरमा खोलिएको आधार स्कूलको ठूलो भूमिका रहेको पोखरेली इतिहासका अनुसन्धानदाता एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले बताए ।

उक्त स्कुलमा माधव घिमिरे, श्रीकान्त अधिकारी, पण्डित मुक्तिनाथ तिमल्सिनालगायतले अध्यापन गराए। त्यस समयमा राणाको निरङ्कुशताका विरुद्ध गतिविधि बढाउन महेन्द्र गुफामा बसेर छलफल गरिन्थ्यो भन्ने पाइएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार पोखराका तत्कालीन बडाहाकिम धनशमशेरले आन्दोलन दबाउनकै लागि ठूलो बल प्रयोग गरेको भने पाइँदैन। धनशमशेर पोखरामा बडाहाकिम हुँदा पाल्पामा उनका बुबा रुद्र शमशेर बडाहाकिम थिए । तत्कालीन समयमा बिपी कोइराला र रुद्र शमशेरबीच समयसमयमा छलफल हुने गरेको र तत्कालीन आन्दोलनरत काँग्रेसप्रति उहाँको सहानुभूति पनि थियो।

रुद्र शमशेर राणाको दरबारमा नरुचाइएका मध्येमा पर्दथे । त्यसैले आन्दोलनलाई खासै दबाउने पक्षमा रुद्रशमशेर नभएको र त्यसको केही प्रभाव पोखराका बडाहाकिम धनशमशेरमा पनि देखिन्थ्यो।

त्यस्तै तत्कालीन समयमा पोखराको चिसाखोला ब्रह्मचारी आश्रममा संस्कृत भाषाका अध्यापक ब्रह्मचारी प्रेम चैतन्यसँग संस्कृत भाषा एवं धार्मिक प्रवचन सुन्नका लागि व्यक्ति जमघट हुने गरेको र त्यहाँबाट पनि राणा विरोधी गतिविधि बढ्न थालेको पाइन्छ।

सो समयमा पोखरेली युवाको सक्रियतामा २००६ साल मङ्सिरमा नदीपुरको नारायणस्थानस्थित पौवामा खुलेको मिडिल स्कूल पनि जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम बनेको संस्कृतिविद् श्रेष्ठको तर्क छ।

विसं २००६ चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगोले यहाँका पाँच/सात जना मानिसको मृत्यु भएको थियो । राणा विरोधी गतिविधि बढिरहेका अवस्थामा घरबारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धनशमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो।

बढ्दै गएको राणा विरोधी गतिविधिबाट त्रसित तत्कालीन सरकारले आगलागीको स्थलगत अध्ययन गर्ने बहानामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको सूक्ष्म अध्ययन गरिएको पाइन्छ। उक्त समयमा पर्चा छर्न खटिएका रामानन्द योगी  (कानो जोगी) कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।

पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उहाँ तनहुँको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पक्राउमा परे ।

आन्दोलन बढ्दै जाँदा २००७ साल पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशङ्कर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरियो । गिरफ्तारीले थप चर्काएको आन्दोलनसँगै पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेका थिए।

पोखरा र आसपासका सचेत युवाले हिम्मतका साथ गरेको सङ्घर्षले २००७ सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान गरेको प्रजातन्त्र सेनानी आचार्यको तर्क छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position