निफमा ‘बुलबुल’लाई ६ अवार्ड

डिसी नेपाल
६ फागुन २०७६ ११:०९

काठमाडौं। विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले सोमबार सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा डबल ह्याट्रिक गरेको छ।

राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका छन् भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेकी छिन्। त्यसैगरी जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जितेका छन्।

‘बुलबुल’लाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पारेको थियो। समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए। त्यसैगरी छायाँकार शेलेन्द्र डि. कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो।

कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले पाएको छ भने इन्टरनेशनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको छ। नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित ‘कलम’ले जितेको छ। प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए। सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको छ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ट ठहरिएको छ। माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो।

यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफदि ड्रइङ गर्ल’ले पायो। मञ्जुश्री अवार्ड नामदिएको यो पुरस्कारको राशी ७ सय अमेरिकी डलर रहेको छ। अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानिएको छ। फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको छ। बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ। समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो। जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हातपार्यो।

फिचर फिल्मतर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भएपनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएका थिए। उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि बताएका थिए। ‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अब आउने जाने गरिरहन्छु। सँगै सिनेमा सम्बन्धी जे कामका लागि पनि सहकार्यका लागि तयार छु,’ उनले भनेका थिए।

अवार्डमा विजेता छान्ने काम फिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो। फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलोमकाइदो र थिबाउट ब्राकले गरेका थिए। श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए। फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *