थाहा छ, सीसीटीभी जडान गर्न अनुमति लिनुपर्छ नी!

धनकुमार कार्की
६ फागुन २०७६ १६:५६

काठमाडौं । मानवीय सुरक्षा गर्न, सार्वजनिक तथा निजी सम्पत्ति एवं अपराधिक क्रियाकलापहरु नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रयोग हुने विद्युतीय उपकरण क्लोज सर्किट क्यामरा (सीसीटीभी) को प्रयोग अत्याधिक मात्रामा बढेको देखिन्छ।

हाल काठमाडौंमा अधिकांश आवासहरु, सार्वजनिक निकायहरु, ब्यापारिक तथा ब्यवसायिक केन्द्रहरु र बिभिन्न सार्वजनिक स्थलहरुमा सीसीटीभी जडान गरिएको हुन्छ। तर धेरैजसो मानिसहरुलाई सीसीटीभी जडान गर्दा पूरा गर्नुपर्ने प्रक्रिया थाहा नहुँदा सीसीटीभी जडान गर्न चाहनेहरुले दुःख पाउने गरेका छन्।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउने, प्रोत्साहन र ब्यवस्थित गर्ने र सञ्चालनको नियमन गर्ने उद्देश्यका साथ सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यबिधि २०७२ मा आएको थियो।

यो कार्यविधी २०७५ माघ २४ संशोधन गरियो। जसअनुसार  सार्वजनिक, ब्यापारिक र निजी प्रयोगको सम्बन्धमा नागरिकरुको सुरक्षा, सरकारी सम्पत्तिको सुरक्षा, कारागारहरुको निगरानी, विमानस्थलकाे सुरक्षा, साँस्कृतिक सम्पदाको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, कुटनीतिक नियोगको सुुरक्षा, सवारी ब्यवस्थापन आदी कार्यका लागि सिसि टीभी जडान गरेमा गरेको १५ दिनभित्र  नजिकको प्रहरी ईकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य जानकारी गराउनुपर्छ।

विशेषगरी निजी र ब्यापारिक प्रयोजनका सीसीटीभी जडान गर्नेहरु धेरैलाई यसबारे थाहा नभएको बताउँछन्। कतिपय उपभोक्ताले थाहा भएर पनि जानकारी गराएका छैनन्।  काठमाडौं जिल्ला प्रशासन कार्यलयमा २०७३ देखि २०७५ सम्ममा  ६६५ ओटा लिखित जानकारी आए पनि २०७५ पछि ५०ओटा मात्र जानकारी आएको जिप्रका काठमाडौंका सूचना अधिकारी जीवन प्रसाद आचार्यले डिसी नेपाललाई बताए।

आजभोली जथाभावी सीसीटीभी जडान गरेर व्यक्तिगत स्वतन्त्रताको हक हनन् हुने खालका बिभिन्न अपराधिक क्रियाकलाप भइरहेका छन्। यसरी जथाभावी सीसीटीभी राखेकोमा हालसम्म कुनै उजुरी नपरेको सूचना अधिकारी आचार्यले बताए। उनले उजुुरी परेमा छानविन हुने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *