वातावरण विधेयक दफावार छलफलका लागि समितिमा

डिसी नेपाल
६ फागुन २०७६ २२:४२

विराटनगर । प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेश नं– १ को प्रदेशसभा नियमावली, बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सो प्रस्ताव सदनमा पेश गरेका थिए । उनले प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा विधेयकमाथि शङ्का नगर्न आग्रह गर्दै विधेयकले समग्रमा अर्थतन्त्रलाई बलियो बनाइ नयाँ उद्योगी एवं व्यवसायीलाई प्रोत्साहन गर्न मद्दत गर्ने बताए।

बैठकमा मुलुकको समसामयिक विषयमा शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशीले विराटनगरदेखि पूर्व आमबारीसम्म बनिरहेको हुलाकीमार्ग सयममै सम्पन्न हुनुपर्ने नभए वर्षात्को समयमा त्यस क्षेत्रको जनतालाई सदरमुकामसम्म आउन समस्या हुने कुरामा सदनको ध्यानाकर्षण गराए । सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेशको राजधानी वृहत विराटनगर क्षेत्र अवधारणा अनुसार यसको संरचना मोरङको सुन्दरहरैचा बनाउन प्रदेश सरकारसँग माग गरे ।

सदस्य सावित्रा जोशीले सुनसरीको धरानमा बाँदरले आतङ्क मच्चाइरहेकाले यसको रोकथाममा प्रदेश सरकारले ध्यान दिनुपर्ने बोलिन । प्रदेशसभाको अर्को बैठक फागुन १३ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *