बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा

डिसी नेपाल
७ फागुन २०७६ ८:३३

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको छ।

बस्तीम २४ घर निर्माण हुँदैछन्। यही महिनाको अन्तिमसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले जानकारी दिए ।

“घरहरु निर्माण सम्पन्न गरेर अहिले घेराबारको काम भइरहेको छ”, उनले भने, “रङरोगन, खानेपानी, बिजुली र घेराबारको काम सम्पन्न गरेर नयाँ वर्ष २०७७ को उपलक्ष्यमा उद्घाटन गर्ने तयारी गरिएको छ।”

नगरपालिकाको पहलमा निर्माण शुरु गरिएको बहुउद्देश्यीय एकीकृत नमूना बस्ती देशकै नमूना बनाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

“होमस्टे (घरवास)को अवधारणाअनुसार निर्माण शुरु गरिएको नमूना बस्तीमा ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य राखिएको छ”, उनले भने, “ बस्ती सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

भूकम्पपीडितले पाउने प्रतिघरपरिवार रु तीन/तीन लाखको जम्मा रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गरेको छ।
नगरपालिकाले आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराएको नगरप्रमुख रिजालले बताए।

विभिन्न कार्यक्रम गर्नका लागि आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिएको उक्त बहुउद्देश्यीय एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बालउद्यान, कक्षा ५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिरलगायत रहने जनाइएको छ।

विसं २०७५ असोज ४ गते शिलान्यास गरिएको बहुउद्देश्य एकीकृत नमूना बस्ती निर्माणका लागि अहिले १६ दक्ष जनशक्ति खटाइएको छ।

बहुउद्देश्यीय एकीकृत बस्तीमा सञ्चालन हुने विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौँका डा. नरेश रिमालले गर्नुभएको संयोजक ढकालले जानकारी दिए ।

काठमाडौँको झम्सीखेल निवासी डा. रिमालले भवनका लागि रु ३० लाख, फर्निचरका लागि रु १० लाख र व्यवस्थापनका लागि बैंक खातामा रु १० लाख जम्मा गरिदिनुभएको जनाइएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमश्रृङ्खला र तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्ती नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत पर्दछ।

सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने विजयखर्कमा निर्माणाधीन बहुउद्देश्यीय एकीकृत नमूना बस्तीलाई निकै महत्वका साथ हेरिएको छ।

करीब रु एक करोड ५० लाख लगानीमा पूरा हुने बस्तीका लागि पुनःनिर्माण प्राधिकरण भवन एकाइ डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र घेराबारका लागि प्रदेश सरकारको रु १५ लाख सहयोग रहेको छ।

बस्तीका लागि स्थानीय शारदाप्रसाद ढकालले रु २५ लाख मूल्य पर्ने साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो।

दश स्थानीय तह रहेको जिल्लाको अन्य स्थानीय तहमा पनि एकीकृत बस्ती निर्माणको काम धमाधम भइरहेको छ।

जथाभावी निर्माण गरिएका बस्तीलाई व्यवस्थित गर्न हरेक स्थानीय तहले एकीकृत बस्ती निर्माणको काम शुरु गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *