क्यानेडियन सभामुखलाई भेट्दा राष्ट्रियसभा उपाध्यक्षलाई बैठक कक्षबाट निकालियो

डिसी नेपाल
७ फागुन २०७६ ११:५७

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आएका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको प्रतिनिधि मण्डलले माघ २७ गते अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्यो।

अध्यक्ष तिमिल्सेनाको कार्यकक्षमा भएको सो भेटमा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल भने अनुपस्थित रहिन्। उनी अनुस्थित रहनुका पछाडि एक महत्वपूर्ण घटनक्रमले काम गरेको छ। नियतबस नै उपाध्यक्षलाई सो भेटमा सहभागी नगराएर उनको अपमान गरिएको संसद सचिवालय स्रोत बताउँछ।

राष्ट्रियसभा अध्यक्षसँग क्यानेडियन सभामुखले भेटवार्ता गर्ने दिन उपाध्यक्ष दाहाल पनि उक्त भेटघाटमा सहभागी हुन गएकी थिइन्। तर सचिवालयका कर्मचारीले उपाध्यक्षको प्रोटोकल नमिल्ने भन्दै उपाध्यक्षलाई दाहाललाई बाहिर पठाइएको संसद सचिवालयको उच्च स्रोतले बतायो।

‘उहाँहरुको व्यस्तता थियो होला, के कारणले भेट हुन सकेन। तर, मैले यो घटनालाई एकदम सहज रुपमै लिएकी छु।’

‘उपाध्यक्षको प्रोटोकल नमिल्ने भन्दै उहाँलाई अपमानपूर्ण तरिकाले बाहिर पठाइयो,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँ (उपाध्यक्ष दाहाल) सँग भेट्ने सूचि नभए पनि सूचि संशोधन गरेर भेट्ने व्यवस्थापन गर्न सकिन्थ्यो। तर त्यसो नगरेर उहाँलाई बाहिर पठाइएछ।’

उपाध्यक्ष दाहालले पनि आफूलाई क्यानेडियन सभामुखसँगको भेटमा सहभागी नगराइएको स्वीकार गरिन्। उनले डिसी नेपालसँग भनिन्, ‘उहाँहरुको व्यस्तता थियो होला, के कारणले भेट हुन सकेन। तर, मैले यो घटनालाई एकदम सहज रुपमै लिएकी छु।’

तर, संसद सचिवालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘उहाँ (उपाध्यक्ष दाहाल) लाई प्रोटोकलले रोक्ने विषय होइन, यो रोक्नुपर्ने विषय होइन, यदि उहाँहरुले चाहेको भए सूचिलाई परिवर्तन गर्न सकिन्थ्यो।’

स्रोतका अनुसार राष्ट्रिय सभा उपाध्यक्ष दाहाललाई यसरी अपमान गरिनुमा संसद सचिवालयका केही कर्मचारीले भूमिका निर्वाह गरेका थिए। उनीहरुले नै प्रोटकल नमिल्ने भन्दै उपाध्यक्षलाई अध्यक्ष तिमिल्सेनाले सँगै लिएर क्यानेडियन प्रतिनिधिमण्डलसँग भेट गर्न नहुने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *