शिवरात्रिको तयारी पुरा, दशलाख भक्तजन आउने अपेक्षा

धनकुमार कार्की
७ फागुन २०७६ १७:१९

काठमाडौं। हिन्दुहरुको महान चाड महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पुरा भएको छ। शिवरात्री यही फागुन ९ गते परेकाे छ।

बुधबार दिउँसो  पशुपति क्षेत्र बिकास कोषले पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

कोषले संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति विकास कोष सञ्चालक परिषदका अध्यक्ष योगेश कुमार भट्टराईको संयोजकत्वका १११ सदस्यीय मुल समिति र बिभिन्न ११ ओटा उपसमितिहरु गठन गरी बिशेष तयारी पुरा गरेको हो।

पशुपति दर्शन गर्न आउने भक्तजनहरुको लाइनको ब्यवस्था, सुरक्षा, प्राथमिक स्वास्थ्य उपचार, निःशुल्क आवास तथा भोजन, पार्किङ लगायत सबै तयारी पुरा भइसकेको पशुपति क्षेत्र बिकास कोषका सूचना समिति संयोजक रेवतिरमण अधिकारीले बताएका छन्। कोषका अनुसार शिवरात्रिका लागि करिब दुइ हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका छन्।

उनीहरुका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया, बसोबास र धुनिको ब्यवस्था मिलाइएको छ। यस्तै दर्शन गर्न दश लाखभन्दा बढी भक्तजन आउने अपेक्षा रहेको छ। भक्तजनहरुका लागि मित्रपार्क तथा गौरीघाट हुँदै उत्तरढोकाबाट १ लाइन, जयबागेश्वरी इटापाखा हुँदै पश्चिम ढोकाबाट १ लाइन र गौशला र एअरपोर्टबाट पिङ्लास्थान हुँदै २ लाइनगरी ४ ओटा लाइनको ब्यवस्था मिलाइएको छ भने दर्शनपछि जुन मार्गबाट प्रबेश गरिएको छ सोहिमार्गबाट बाहिरिने ब्यवस्था गरिएको छ।

शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा  गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका समेत परिचालन गर्ने भएको छ।
यसदिन पशुपति क्षेत्रमा भक्तजनहरुको भिड लाग्ने भएकाले भक्तजनको सुरक्षा र गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि प्रहरी परिचालन गरीएको हो।

यसका साथै सादा पोसाकमा सूचना संकलक र रिजर्भ फोर्स पनि तयार राखिने भएको छ। त्यसैगरी नेपल स्काउटका समेतगरी ५००० स्वयमसेवक दर्शनार्थीलाई सहजिकरणका लागि परिचालन हुनेछन्।

बिभिन्न ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थासँग समन्वय गरेर पशुपति मन्दिर नजिक पर्ने गरी डाक्टर, नर्स, औषधी र वेडसहितको नेपाली सेनाको शिविर रहनेछ। पार्किङका लागि तिलगंगा, सिफल चौर, गुह्यश्वरी पारीको स्थान, पशुपति बिकास कोषको कार्यालय र प्रहरी वृत्त गौशाला गरी ५ ठाउँमा ब्यवस्था गरिएको र चावाहिल , गौशाला र एअरपोर्ट क्षेत्रमा एकतर्फी सवारी सञ्चालान गराइने भएको छ।

पशुपतिनाथ नेपाललाई विश्वमा चिनाउने केन्द्र भएकाले भ्रमण वर्षको अवसरमा प्रचारप्रसारलाई पनि बढाइएको छ। भ्रमण वर्षलाई मध्यनजर गर्दै मौलिक संस्कार झल्काउने हिसाबले नमस्कार गर्ने ब्यवस्था गरिएको छ। साथै कुनै पनि प्रकारका नसालुु पदार्थ निषेधित गरिएको कोषले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *