हेल्प नेपाल र नेपथ्यको सहकार्यमा शिक्षाका लागि संगीत आयोजना हुँदै

डिसी नेपाल
८ फागुन २०७६ ११:४८

काठमाडौं। आफ्ना सन्ततिले उचित शिक्षादीक्षा पाउन् भन्ने चाहना हरेक आमाबाबुको हुन्छ। र, त्यसका लागि एउटा उत्कृष्ट विद्यालयको स्थापनाको प्रचलन युगौँ पुरानो हो।

समाजमा शिक्षाको विकास र विस्तारका लागि यस्ता धेरै विद्यालयहरु विद्यमान छन्, जसले शिक्षाको ज्योति फैलाउने काम मात्रै गरेका छैनन्, मुलुकलाई विचारवान उत्कृष्ट जनशक्ति पनि प्रदान गरेको छ।

त्यस्तै विद्यालयहरु मध्येकै एक हो, दोलखास्थित राजकुलेश्वर आधारभूत सरकारी पाठशाला। जसले हजारौं शिक्षित युवा मुलुकलाई दिएको छ। तर २०७२ सालमा आएको शक्तिशाली भूकम्पका कारण उक्त विद्यालयको भौतिक संरचनामा भएको क्षतिले विद्यालयको पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ।

यस स्कूलको पुनर्निर्माणका लागि समाजसेवाका क्षेत्रका विगत दुई दशकदेखि क्रियाशील हेल्प नेपाल नेटवर्कले भवन निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको छ। सोही घोषणा अनुरुप देशकै प्रतिष्ठित सांगीतिक ब्याण्ड नेपथ्यले हेल्प नेपालसँगको सहकार्यमा ‘राम्रो शिक्षाका लागि उत्कृष्ट पूर्वाधार’ नाराकासाथ राजकुलेश्वर स्कूल, दोलखाको सहयोगार्थ लाइभ कन्सर्ट गर्ने भएको छ ।

यही फरवरी २९ तारिखका दिन भृकुटीमण्डपमा आयोजना हुने नेपथ्य ब्याण्डको लाइभ कन्सर्टबाट उपर भएको रकम उक्त विद्यालयको पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

मुलुककै चर्चित सांगीतिक ब्याण्ड नेपथ्यका अमृत गुरुङले ०७२ बैशाख १२मा आएको शक्तिशाली भूकम्पले मुलुकमै ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै, दोलखाको राजकुलेश्वर आधारभुत सरकारी पाठशालामा अध्ययनरत विध्यार्थीहरु पाठशाला भवन पुनर्निर्माण नभईसकेको हुँदा अहिले पनि टहरामै बसेर अध्यन गरिरहनु परेको अवस्था विद्यमान रहेको हुँदा जसरी हामी सबै नेपालीहरु स्वतस्फुर्तरुपमा सहयोगकोलागि एकजुट भएका थियौं, त्यस्तै सहयोग आज पनि खाँचो रहेको भन्दै सबैसँग सहयोगका लागि आह्वान गरेका छन्।

गायक अमृत गुरुङले ‘सोही भवनलाई राम्रैसँग पुनर्निर्माण गर्नकोलागि हेल्प नेपाल नेटवर्क र नेपथ्यको सहकार्यमा काठमाडौंको भृकुटि मण्डपमा सांगीतिक कन्सर्ट गर्नलागेका छौं। यस संगीतमय साँझबाट उठेको रकम भवन पुनर्निर्माणकोलागि हाम्रो तर्फबाट सहयोगार्थ हुनेछ । देश बिदेशमा रहँदै आउनु भएको नेपालीहरु लगायत उध्योग व्यवसायीहरुलाई आफूले सकेको सहयोग गर्नको लागि हामी बिनम्र अनुरोध गर्दछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *