‘परदेशी २’मा प्रशान्त र केकी पनि

डिसी नेपाल
११ फागुन २०७६ १३:३६

काठमाडौं। चलचित्र ‘परदेशी २’मा प्रकाश सपूत, वर्षा शिवाकोटीका साथमा प्रशान्त तामाङ र केकी अधिकारीको समेत मुख्य अभिनय रहने भएको छ।

प्रकाश र वर्षाको अभिनय रहने पहिल्यै सार्वजनिक भएपछि प्रशान्त र केकीले अभिनय गर्ने जानकारी चलचित्रको शुभमुहूर्तमा सार्वजनिक भएको हो। प्रशान्त २०७२ सालमा प्रदर्शनमा आएको ‘परदेशी’को शीर्ष भूमिकामा प्रस्तुत थिए। जुन चलचित्र सुपरहिट भएको थियो। ‘परदेशी २’मा प्रकाश र वर्षाको अभिनय रहने समाचार सञ्चारमाध्यममा यसअघि सार्वजनिक हुँदा धेरैले प्रशान्तको अभिनय रहने/नरहने चासो राखेका थिए। अब भने त्यो चासो मेटिएको छ।

कस्तो कथामा बन्दैछ ‘परदेशी २’ ?
‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छट्पटी भईरहेकोले त्यही धेरै कथाहरुमध्येको कथामा ‘परदेशी २’बनाउन लागेको निर्देशक नारायण रायमाझी बताउँछन्। ‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौं र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौं’– रायमाझी भन्छन् ।

उनका अनुसार ‘परदेशी २’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो। नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो। सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो। बाध्यता या रहरले विदेशिएका युवा र तीनका अभिभावकहरुले देखेको मिठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो। अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली–ओराली र सिङ्गो देशको यादले सताएको कथा हो।

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो। जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो। यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद पनि अकल्पनीय सफलता हासिल गरेको थियो।

संख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी २’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ। चलचित्रका निर्माता राजेश वंशल भन्छन् ‘परदेशी २, के गाउँ के शहर, यो घर घरको कथा हो। परदेशले नेपालीहरुलाई सुख र सम्मृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरु छन्। यही सुख–दुःख, सफलता–असफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै ‘परदेशी २’ हो। स्क्रिप्टमा पाँच बर्षको मेहेनत गरिएको छ। गोर्खा पल्टन र परदेशीजस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु।’

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी २’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रकाश, प्रशान्त, वर्षा, केकीको शीर्ष भूमिका रहनेछ। नीर शाह पनि चलचित्रको शीर्ष भूमिकामा देखिनेछन्। त्यस्तै प्रकाशका भाई देवेन्द्र बब्लुको पनि चलचित्रमा अभिनय रहनेछ।

प्रसिद्ध गीतकार समेत रहेका रमेश बीजीको कथा, निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शबद तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ। प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दास, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले चलचित्रका गीतमा स्वर दिनेछन्। चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्नेछन् ।

पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *