प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने

डिसी नेपाल
१३ फागुन २०७६ १८:४९

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश नं.१ को सभामुख प्रदीपकुमार भण्डारीलाई प्रदेशको संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने सम्बन्धमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश सरकार निर्माण भएको दुई वर्ष बितेको छ र प्रदेशसभा अहिले जिल्ला समन्वय समितिको कार्यालय सञ्चालन भइरहेको अवस्थामा नयाँ संरचना बनाउन महानगरपालिकाले जग्गा उपलब्ध गराउने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रदेशको राजधानी सुहाउँदो न्यूनतम आधारभूत सुविधासहितको आधुनिक र समृद्ध शहर निर्माणको दूरदृष्टिका साथ महानगरपालिकाले भौतिक पूर्वाधार, सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको योजनाबद्ध निर्माणका लागि जग्गा उपलब्ध गराउने ज्ञापनपत्रमा उल्लेख छ । प्रदेश सरकारको योजनाअनुरुप आवश्यक पर्ने जग्गा महानगरपालिकाले खरिद गरेरसमेत उपलब्ध गराउन सकिने नगर कार्यपालिकाको बैठकबाट निर्णय भइसकेको जनाइएको छ ।

“नगरपालिकाभित्रमा रहेका सार्वजनिक जग्गामध्ये कुन जग्गा प्रदेशसभाका लागि उपयुक्त हुन्छ, त्यो उपलब्ध गराउने छ”, ज्ञापनपत्रमा भनिएको छ, “विराटनगर महानगरपालिकाले एक वर्षको बजेटसमेत खर्च गर्न नगर कार्यपालिकाले सहमति जनाएको छ ।”

सभामुख प्रदीपकुमार भण्डारीले ज्ञापनपत्र ग्रहण गर्दै विराटनगर महानगरपालिकाको गम्भीरतालाई प्रदेशसभाले सम्मान व्यक्त गरेको बताए। उनले प्रदेशसभाको सभा सञ्चालन गर्न हल अभाव रहेकाले तत्काल हल मात्र बनाउन प्रदेश सरकारलाई आग्रह गरिसकेको बताउँदै सहयोगी भावना लिएर आएको विराटनगर महानगरपालिकाको प्रतिबद्धताले प्रदेशसभालाई ऊर्जा मिलेको छ भने ।

उनले विराटनगर महानगरपालिकाको आग्रहलाई प्रदेश सरकारसँग सहकार्य गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशसभाको भवन बन्दा प्रदेशसभा सदस्यका लागि आवास पनिसँगै निर्माण हुने जानकारी दिए । प्रदेशसभाको संरचना निर्माण गर्न तत्काल कति जग्गा आवश्यक पर्ने जिज्ञासामा सभामुख भण्डारीले यसको गृहकार्य भइरहेकाले तत्काल भन्न नसकिने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेशसभा भवन, मन्त्रालय आवास तथा अन्य संरचना निर्माणका लागि प्रदेश सरकारले महानगरपालिकालाई दिने जुनसुकै भूमिका पूरा गर्न सदैव प्रतिबद्ध रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *