किन काँग्रेसलाई फकाउँदै छन्, ओली र प्रचण्ड?

डिसी नेपाल
१६ फागुन २०७६ १०:३९

काठमाडौं। तीनदिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवाबीच वालुवाटारमा राजनीतिक भेटघाट भयो। नेकपा भित्र चर्किएको आन्तरिक किचलोका बीच ओली र देउवाले भेटेको विषयले नेपाली राजीतिमा कुनै ‘दुर्घटना’ हुन लागेको संकेत गर्छ।

प्रधानमन्त्री तथा तथा नेकपा अध्यक्ष ओली पछिल्ला दिनहरुमा पार्टी भित्र कमजोर बन्दै गइरहेका छन्। करिव दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री आफ्नै पार्टी भित्रको घरोबन्दीमा परेर कमजोर हुन पुगेपछि उनले प्रतिपक्षी दल नेपाली काँग्रेसको सहयोग लिन खोजेको देखिएको छ।
काँग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओली सरकार अप्ठ्यारोपमा परेको भन्दै आवश्यक परे काँग्रेसले सहयोग गर्नुपर्ने आग्रह गरेका थिए। खास गरी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन नेकपा भित्रैबाट ओलीलाई असहयोग हुने देखेपछि ओलीले देउवाको सहयोग लिन खोजेको कतिपय विश्लेषकहरुले बताएका छन्।

एमसीसी अनुमोदन नभए पार्टी भित्र कमजोर बनेका ओली अन्तर्राष्ट्रिय समूदायमा पनि कमजोर रहेको सन्देश जाने भएपछि पछिल्लो समय छटपटीमा रहेको बुझाई काँग्रेस नेताहरुको छ। त्यसमाथि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवासँग भेटेपछि ओली थप सशंकित बनेका छन्।

ओलीले बिहीबारमात्र पनि काँग्रेसका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटेर सहयोगको अपेक्षा राखेका छन्। भेटमा काँग्रेस नेता कोइरालाले आफूसँग मात्र भेटेर भन्दा पनि सभापति देउवासँग पनि भेटेको कुरा ओलीलाई स्मरण गराएको बताएका छन्। जवाफमा ओलीले देउवालाई प्रचण्डले पनि भेटेको भन्दै आशंका व्यक्त गरेको डा. कोइरालाले सार्वजनिक रुपमै बताएका छन्।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षहरु यसरी काँग्रेस नेताहरुसँग पछिल्ला दिनहरुमा लगातार छलफलमा रहेपछि संसदको वास्ताविक शक्ति काँग्रेस सँगै रहेको हो कि जस्तो परिदृष्य नेपाली राजनीतिक रंगमञ्चमा देखिएको छ।

प्रधानमन्त्री ओलीलाई एमसीसीले अप्ठ्यारो पारेको छ भने यही विषयमा खेलेर प्रचण्डले उनलाई हटाउने तयारी थालेका छन्। त्यसैले पनि नेकपाका दुबै समूहलाई काँग्रेसको सहयोग अपेक्षित देखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *