हलमा रिक्सा चालकको दुःख र संघर्षको कथा

डिसी नेपाल
१६ फागुन २०७६ ११:०२

काठमाडौं। रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा निर्माण गरिएको चलचित्र ‘धुलो’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

प्रद्युम्न मिश्र निर्देशित चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्की लगायतको अभिनय छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको चलचित्रमा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ। सुकुम्बासी बस्तिका गरिव रिक्सा तथा गाडा चालकको दुःख, सपना, संघर्ष र जीवनशैलीलाई चलचित्रमा देखाइएको छ। दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।

कबिराज गहतराज र रामजी लामीछानेले चलचित्रको गीतमा कोरियोग्राफी गरेका छन्। सुवास सिंह बस्न्यातको लेखन रहेको चलचित्रमा रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन छ। चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण टिम आशावादी देखिएको छ।

रिक्सा चालकलाई सम्मान
चलचित्र निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मानपत्रसहित सम्मान गरेको छ। सम्मानीत हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठ छन्।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ट चलचित्रकर्मी नीर शाह, विशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए। करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट प्रदान गरिएको कार्यक्रममा चलचित्रका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मज्दुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यवस्था मिलाइएको घोषणा गरियो।

कार्यक्रममा ‘धुलो’ले गरेको समाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अतिथिले प्रसंशा गरेका थिए। कार्यक्रमपछि ‘धुलो’मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ, निर्देशक मिश्र, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत चलचित्रको युनिटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदूरको वास्तबिक कथामा चलचित्र निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *