अन्तरिक्षमा ‘बिग ब्याङ्ग’ पछिकै ठूलो विस्फोट पत्ता लाग्यो

डिसी नेपाल
१६ फागुन २०७६ १७:२२

बीबीसी । वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ।

एउटा अत्यधिक ठूलो ब्ल्याक होलबाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन्। सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो। वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष एस्ट्रोफिजिकल जर्नल मा प्रकाशित गरेका हुन्।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र डार्क म्याटर ले बाँधिएर रहेको मानिन्छ। पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए।

ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन्। तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो।

र यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने हुन्थ्यो। तर अस्ट्रेलियाको मर्चिसन वाइडफील्ड एर्रे र भारतको जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग विस्फोटकै कारण भएको पुष्टि गरेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *