काँग्रेसमा फेरि विवाद, विभाग गठनप्रति पौडेलको आपत्ति

डिसी नेपाल
१७ फागुन २०७६ २१:२३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा फेरि आन्तरिक विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले आमन्त्रित सदस्य मनोनित र विभाग गठन गरेपछि आन्तरिक विवाद बढेको हो।

विभाग गठन र केन्द्रीय सदस्य मनोनयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्। सभापति देउवाले शनिवार १३ विभाग गठन गरेका थिए भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।

पर्साको विरगञ्जमा दुई नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोधमा प्रस्ताव पास गरेको छ। पौडेल शनिबार विरगञ्जको कार्यक्रममा थिए। उनकै उपस्थितिमा भेलाले त्यस्तो प्रस्तव पारित गरेको हो।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकमा भ्रष्टाचार व्यप्त भएको, सरकार काण्डै काण्डमा फसेको अवस्थामा पनि प्रमुख विपक्षी दलले विरोध किन गर्न सकेन भन्ने प्रश्नको जवाफ आम कांग्रेस नेता कार्यकर्ताले खोज्ने बेला आएको बताए।

विरगञ्जमा आयोजित प्रदेश नम्बर दुई स्तरीय कार्याकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस नेता कार्याकर्ताले अब भ्रष्टाचार मुक्त नेपाल, विकृति मुक्त नेपाली कांग्रेसको अभियान सुरु गर्नुपर्ने बताए।

उनले कांग्रेसका कार्यकर्ताले कांग्रेसको इतिहास, कांग्रेसले थालेको आन्दोलनको मर्म र वीपी कोइराला, गणेशमान सिंह, किसुन जीको विरासत जोगाउनका लागि लाग्नुपर्ने बताए।

पौडेलले कांग्रेसमा ओरल्ली मोरल्ली, र पोलिटिकल्ली कम्युनिष्टहरुसंग प्रतिकार गर्न सक्ने नेतृत्व कांग्रेसमा भएको बताउँदै पद र प्रलोभनबाट मुक्त भएर त्याग गर्न सक्ने नेतृत्वको खोजीमा कांग्रेस लाग्नुपर्ने बताए।

नेपाली कांग्रेसले हिजोको इतिहास भुलेर विप्लवका कार्यकर्ता मारिएको विरोधमा संसद अवरुद्ध हुने तर यत्रा ठूला ठूला भ्रष्टाचारका काण्ड हुँदा समेत संसदमा अवरुद्ध किन गर्न सकिएन भनि प्रश्न पौडेलले गरे।

वरिष्ठ नेता पौडेलले देशभरका अन्यायमा परेका कांग्रेसहरुलाई न्याय दिनका लागि आफूहरु तयार रहेको बताउँदै क्रियाशील सदस्यता वितरणमा हुने धाँधली रोक्नका लागि वडा तहबाट नै लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

पौडेलले कांग्रेसको विरगञ्ज भेला कांग्रेसलाई पुनर्जिवन दिनका लागि ऐतिहासिक हुने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले सरकारले कर बढाएर जनतालाई सपना बाढ्ने भन्दा बाहेक अन्य काम गर्न नसकेको बताए। उनले कांग्रेस एकताबद्ध हुन नसक्दा नेपालमा कम्युनिष्टहरुको विगविगी भएको बताए।

कांग्रेस नेता प्रकाशमान सिंहले पटक पटकका आन्दोलनको नेतृत्व गर्न सक्ने संविधान बनाउन सक्ने कांग्रेसलाई किन नेपाली जनताले भोट दिएनन् भन्ने खोजी हुन आवश्यक रहेको बताए। उनले १४ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि खबरदारी आवश्यक रहेको बताए। उनले अन्यायका विरुद्धमा लड्दा कार्यकर्ताहरुबाट न्याय पाउने बताउँदै १० औं महाधिवेशनको मुखमा काठमाडौ जिल्ला सभापतिबाट बर्खास्तीमा पर्दा आफुलाई माहाधिवेशनमा तेस्रो भोट दिएर नेता कार्यकर्ताले न्याय गरेको बताए।

नेता डा रामशरण महतले महाधिवेशनको कार्यतालिनका तय भइसकेपछि पार्टीका विभाग बनाउनु आचारसंहिता विपरित भएको बताए।
नेता अर्जुननरसिंह केसीले संसदमा सरकारका विरुद्धमा उत्रन कांग्रेसलाई केले रोकेको भनि प्रश्न गरे। नेता केसीले लाउडा काण्डमा ५७ दिन संसद अवरुद्ध गर्ने कम्युनिष्टहरु अहिले सत्तामा रहेर काण्डै काण्ड मच्चाउदा समेत संसदमा कांग्रेस चुप बसेर जनतामाथिको भरोसा टुटाउँदै गएको बताए।
कार्यक्रममा नेताहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतले कांग्रेस नेतृत्वबाट भएको कमी कमजोरीका बारेमा धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *