मरिससमा के गर्दैछन् श्रममन्त्री?

डिसी नेपाल
१७ फागुन २०७६ २१:५८

काठमाडौं। मरिससको औपचारिक भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्द्रकुमार जुगनाउथसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

पोर्टलुइसस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल र मरिससबीच गत जेठमा सम्पन्न श्रम समझदारीको कार्यान्वयनलगायत दुई देशबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको दक्षिण अफ्रिकाका लागि नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा मन्त्री यादवले आगमी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा मरिससबाट उच्चस्तरको सहभागिताका लागि आग्रह गरेका थिए। नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा मरिससबाट लगानीका लागि समेत उनले आह्वान गरे।

भेटमा मरिससका प्रधानमन्त्री जुगनाउथले नेपालले अन्तर्राष्ट्रियस्तरको संवाद आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै उच्चस्तरको सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री यादवले त्यहाँ रहँदा कृषि, उद्योग तथा खाद्य सुरक्षामन्त्री महेन्कुमार सिरुत्न, श्रम मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनसँग पनि भेटवार्ता गरेका थिए।

सो अवसरमा मरिससको कृषि क्षेत्रमा नेपाली कामदारका लागि रोजगारीको सम्भावनाका बारेमा छलफल भएको दूतावासले जनाएको छ ।

यस्तै दुई देशका श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा छलफल भएको थियो । सो अवसरमा सम्झौताअनुरुपको मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाका साथै लागतका विषयमा छलफल भएको थियो ।

भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले रोजगारदाताको सङ्गठनका प्रमुख तथा प्रतिनिधिसँग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवालगायत क्षेत्रका बारेमा छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा मरिसस पक्षले नेपाली कामदार पठाउँदा कामदारको मर्यादित भर्ना प्रक्रियालाई अपनाउन जोड दिएको थियो ।

नेपाली प्रतिनिधिमण्डलले मरिससको व्यवस्थापिका ‘नेशनल एसेम्बली’को सभा सञ्चालनको अवलोकन गरेको थियो । मरिससका श्रममन्त्री कालिचरनको निमन्त्रणमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *