चीनमा ह्वात्तै घट्यो संक्रमितको संख्या, जापान, कोरियामा ज्यान गुमाउनेको संख्या बढ्यो

डिसी नेपाल
१९ फागुन २०७६ ८:०३

काठमाडौँ । चीनबाट महामारीको रुपमा देखा परेको कोरोनाको संक्रमण विश्वभर फैलिएको छ। तर चीनमा भने पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ ।

चीनमा सो रोगको संक्रमणबाट आइतबार ४२ जनाको ज्यान गएको छ भने २०२ जना नयाँ संक्रमित फेला परेका छन् । यसअघि चीनमा दैनिक ४-५ सयको रेसियोमा संक्रमित भेट्टिँदै आएका थिए ।

सोमबार बिहानसम्म चीनमा २ हजार ९ सय १२ जनाको ज्यान गएको र ८० हजार २६ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ।

चीनमा पछिल्लो साता संक्रमितको संख्या घट्न थालेसँगै मृत्यु हुनेको संख्या पनि घट्दै गएको छ। तर चीन बाहिर भने कोरोनाको संक्रमण ह्वात्तै बढेको छ ।

चीन बाहिर इरान, जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ।

सोमबार बिहानसम्म चीन बाहिर इरानमा २१०, दक्षिण कोरियामा १७, इटलीमा १२, जापानमा ९, फ्रान्समा २, संयुक्त राज्य अमेरिकामा १, हङकङ्मा २, फिलिपिन्समा १, ताइवानमा १ र डायमण्ड प्रिन्सेसमा ४ जनाको ज्यान गएको छ।

चीन बाहिर सबैभन्दा बढी मानिस दक्षिण कोरियामा संक्रमित भएका छन्। सोमबारसम्म कोरियामा ३ हजार ५ सय २६ जना संक्रमित भएको पुष्टी भएको छ।

यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा आइतबार बिहानसम्म ९ सय ५३ जना संक्रमित भएको जापानी स्वास्थ्य विभागले जनाएको छ।

कोरोनाको संक्रमण बढेसँगै दक्षिण कोरिया र जापानका अति प्रभावित स्थानका थप संक्रमण बढ्न नदिन विद्यालयहरु बन्द गरिएका छन् ।

कोरोना भाइसरले विश्वव्यापी रुपमा फैलिएपछि सरकारले दुई महिना अगाडि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।

यस्तै चीन र दक्षिण कोरियाबाट फर्केका दुईजना नेपालीमा कोरोना भाईरसको संक्रमणजन्य संकेत देखिएपछि अस्पताल भर्ना गरिएको छ।

कोरोनाको संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालले पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *