नेपालमा कोरोनाभाइरस संक्रमणको आशंकामा ५ जना अस्पताल भर्ना, पुष्टि हुन बाँकी

डिसी नेपाल
१९ फागुन २०७६ १६:०२

काठमाडौं । नेपालमा ५ जना कोरोनाभाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा पुगेर भर्ना भएको हुन् । मिल्दो लक्षण देखिए पनि उनीहरुलाई कोरोनाभाइरसकै संक्रमण भएको हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने पुष्टि हुन बाँकी नै छ ।

कोरोनाभाइरसको संक्रमणँग मिल्दाजुल्दा लक्षणसहित सोमबार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको डा. पाण्डेले जानकारी दिए । उनीहरू शंकास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको पाण्डेले बताए । यसरी भर्ना हुनेहरुमध्ये ४ जना नेपाली र १ जना चिनियाँ नागरिक हुन् ।

डा. पाण्डेका अनुसार नेपालमा कोरोनाभाइरस चीन, इरान, इटली लगायतका बढी प्रभावित देशमा जस्तो गरी नेपालमा फैलिएको छैन । नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर त्यसपछि अरू कसैमा पनि संक्रमण देखिएको छैन । ती संक्रमित व्यक्ति पनि आफैं अस्पताल पुगेका थिए । चीनबाट फर्किएका उनी अस्पताल पुग्नुभन्दा अगाडि धेरै व्यक्तिको सम्पर्कमा रहेका भए पनि उनीबाट अरुमा सरेको नपाइएकोले नेपालमा यो भाइरस प्रवेश गरिहाले पनि यसको फैलिने क्रम अन्य देशमा जस्तो तीव्र नहुने संकेत देखिएको छ ।

नेपालमा तीव्र गतिमा भाइरस नफैलिएको देखिए पनि यसलाई बेवास्ता नगर्न डा. पाण्डेले सुझाव दिए । उनले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *