काेराेना कहर : सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

डिसी नेपाल
२१ फागुन २०७६ १३:१८

चितवन। कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन्। यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन्।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे। नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून हुने उनको भनाइ थियो। अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन्। यसअघि भएका सबै बुकिङ रद्द भएका छन्।

होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन्। एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन्। अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् ।

बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ। कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो।

सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए। पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि सौराहाका ११५ होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ। यो लगानी जग्गा बाहेकको हो। सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउँछन्।

व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उनको भनाइ छ। ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ। व्यापार ठप्प भएपछि बैंकको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ।

सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ। यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ।

सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन्। त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरेको भनाइ छ। सरकारले पनि धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ।

कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पु¥याएको सरोकारवाला पक्षको भनाइ छ। पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन्। जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ। यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ। रासस




प्रतिक्रिया