‘चलचित्र नै नबने तपाई हामी कहाँ रहन्छौं?’ रेखा थापा भन्छिन् – ‘त्यसैले सर्वप्रथम निर्माता बचाऔं’

डिसी नेपाल
२१ फागुन २०७६ १६:४२

काठमाडौं। अभिनेत्री रेखा थापाले सबै मिलेर नेपाली चलचित्र क्षेत्रलाई बचाउनुपर्ने अवस्था आएको बताएकी छिन्।

चलचित्र नचलिरहेको अवस्थामा चलचित्र निर्माण गर्नु नै ठूलो कुरा भएको बताउँदै निर्माता बचाउनुपर्ने रेखाले बताइन्।  ‘अहिलेको अवस्थामा चलचित्र बन्नै गाह्रो छ। यदी चलचित्र नै बनेन् भने तपाई हामी कहाँ रहन्छौं? त्यसैले निर्माता र चलचित्र क्षेत्र बचाउने दायित्व तपाई हाम्रै हो’, उनले भनिन्। बुधबार आफू अभिनित चलचित्र ‘हिरो रिटर्न्स’को टे्रलर रिलिज कार्यक्रममा रेखाले यस्तो धारणा राखेकी हुन्।

रेखाले यो चलचित्र चल्छ–यो चल्दैन भनेर अड्कलबाजी काट्न नहुने तर्क गरिन्। चलचित्र निर्माणमा ठूलो मेहनत हुने भएकोले सबै चलचित्र चल्नुपर्ने रेखाको भनाई छ। ‘यस चलचित्रमा लगाउने पैसा जग्गामा लगाएको भए धेरै पैसा आउँथ्यो होला, २ वर्ष अगाडि यही पैसा अरु केहीमा लगाएको भए डबल हुन्थ्यो होला’, रेखाले भनिन्, ‘एउटा निर्माताले गर्दा कलाकार, टिकट बेच्नेदेखि लिएर त्यहाँ चना चटपटे बेच्नेसम्मलाई रोजगारी दिएको हुन्छ भन्ने कुरा हामीले विर्सनुहुँदैन्। एउटा निर्माताले कति जनाको परिवार पालिरहेको हुन्छ। अनि हामीले निर्मातालाई नै हेप्ने।’

आफू १८ वर्षदेखि नेपाली चलचित्रमा रहेको बताउँदै उनले भनिन् ‘यहाँको सबै राजनीति बुझिरहेकी छु। कसैले कसैलाई लडाएर चलचित्र क्षेत्र कहिल्यैमाथि जाँदैन। राजनीतिमा पो राजनीति, चलचित्र, सिर्जनाको क्षेत्रमा राजनीति हुनु हुँदैन्।’ २ वर्षअगाडि निर्माण भएको ‘हिरो रिटर्न्स’ आगामी बैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

कहिलेकाँही ‘फ्रि’मा काम गरिदिन मिल्दैन् ?
कार्यक्रममा रेखाले संचारकर्मीतर्फ इंगित गर्दै भनिन्, ‘चलचित्र नचलिरहेको अवस्थामा कहिलेकाँही तपाईहरुले ‘फ्रि’मा काम गरिदिन मिल्दैन् र ?’ उनले दिएको अभिव्यक्तिको संकेत थियो, ‘चलचित्र प्रदर्शनताका निर्माताले पत्रकारलाई पैसा दिनुपर्छ। पैसा नलिई समाचार आउँदैन्। कहिलेकाँही पैसा नलिई काम गर्न मिल्दैन्?’

उनले निर्माताहरुबाट यो विषयमा कुरा सुनिरहने समेत बताएकी थिइन्। निर्माताहरुले पैसा दिइरहेको देखे पनि त्यो कहाँ–कहाँ जान्छ भन्नेबारे आफूलाई जानकारी नभएको बताइन्। हुन पनि हो। चलचित्र पत्रकारहरुले बेला बेलामा यो आरोप खेप्दै आएका छन्। कार्यक्रममा पत्रकारहरुले समाचार लेखेकै भरमा कोहीले पैसा लिएको भए त्यो खुलाइदिन रेखालाई आग्रह गरेका थिए।




प्रतिक्रिया