विद्युत आयोजना विस्तारका लागि रुख काटिँदै

डिसी नेपाल
२२ फागुन २०७६ २०:३५

सङ्खुवासभा। सङ्खुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना र २२० केभी प्रसारण लाइनको कोशी करिडोर विस्तारको क्रममा ११ हजार ८९५ रुख काटिने भएको हो ।

डिभिजन वन कार्यालय सङ्खुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले अरुण तेस्रोको २२० केभीअन्तर्गत पावरहाउस र ड्यामसाइटमा पाँच हजार ४१ रुख काटिने जानकारी दिए । कोशी करिडोर २२० केभीअन्तर्गत पर्ने क्षेत्रका २२० र अरुण तेस्रोको ड्यामसाइट जाने ३३ केभी क्षेत्रअन्तर्गत पर्ने एक हजार ९१७ रुख काटिने तयारी भइरहेको छ । यस्तै अरुण तेस्रोको ४०० केभीअन्तर्गत तीन हजार ८४७ रुख काटिने भएको समेत सहायक वन अधिकृत पराजुलीले बताए ।

अरुण तेस्रोको २२० केभीअन्तर्गत चिचिला गाउँपालिका–२ पुखुवामा रहेको पावारहाउस गृह र मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बन्ने ड्यामसाइट जाने रुटमा पाँच हजार ४०१ रुख काटिनेसमेत पराजुलीले बताए । आयोजनास्थलभित्रका क्षेत्रमा पर्ने झण्डै ९० प्रतिशत रुख काटिसकिएको समेत सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। त्यसैगरी सुनसरी–धरान–धनकुटा हुँदै सङ्खुवासभा र भोजपुरसम्म जोडिने २२० केभी प्रसारण लाइनको कोशी करिडोरअन्तर्गत ७३० रुखसमेत काटिने भएको छ ।

नौ सय मेगावाटको अरुण तेस्रोको पिखुवा हाइड्रोपावरबाट ड्यामसाइट फ्याक्सिन्दा लैजाने ३३ केभी प्रसारण लाइनअन्तर्गत एक हजार ९१७ रुख काटिने भएको छ । अरुण तेस्रो ९०० मेगावाटबाट उत्पादित विद्युत् सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर र सिरहा हँुदै भारत लैजाने ४०० केभी प्रउसारण लाइनअन्तर्गत ठाउँमा तीन हजार ८४७ रुख काटिने छन् । “अरुण तेस्रो प्रसारण लाइनअन्तर्गत निर्माण कम्पनी सतलजले रुख काट्ने अनुमति सम्बन्धित निकायसँग माग गरेसँगै उक्त क्षेत्रमा कटानी हुने रुखको निरीक्षण गर्दा यस किसिमको सङ्ख्याको आँकडा आएको हो । परियोजनास्थलमा आयोजना सञ्चालन गर्न वन मन्त्रालयसँगको पत्राचारपछि रुख काट्ने काम अन्तिम चरणमा पुगिसकेको छ । अन्य प्रसारण लाइनमा पनि रुख काट्ने अनुमतिका लागि मन्त्रालयमा फाइल पठाएका छौँ, काट्ने आदेश आएको छैन”, सङ्खुवासभाका सहायक वन अधिकृत पराजुलीले भने ।

आयोजनास्थल मात्र नभएर विद्युत् प्रसारण लाइन हुने क्षेत्रमा समेत धेरै रुखहरु काटिने भएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ दशमलव १८ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानूनी प्रावधान रहिआएको समेत पराजुलीले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *