१६ तस्बिरमा हेर्नुहोस् काठमाडौँमा होलीको रौनक

डिसी नेपाल
२६ फागुन २०७६ १३:१२

काठमाडौँ । आज फागुपूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। उपत्यका लगायत देशभरी नै उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्षभने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको छ।

सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएको छैन् । उपत्यकाका सडकहरु सुनसान देखिएका छन्। नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेल लगायतका क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भएपनि यो वर्ष भने शान्त देखिएको छ।

विश्वभरी कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन। यद्यपी बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरुको भिड रहेको छ।

होलीका अवशरमा काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन रहेको छ। चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्छ भन्ने विश्वास रहेको छ।

अष्टमीका दिन वसन्तपुरमा रहेको दद्दी बैठक अगाडी मैलको रुखलाई रङ्गीचङ्गी ध्वाजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुने गर्दछ।

प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । जबरजस्ती लोला हान्ने र रङ दल्नेहरुलाई कारवाही गर्ने प्रहरीले जनाएको छ।

प्रहरीले उपत्यकाका ६५ भन्दा बढी स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ भइरहेको जनाएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह समेत गरेको छ ।

प्रत्येक चोकमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेरै मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ । मेलमिलाप र सद्भावको सन्देश दिइ आउने होली परम्परागत रुपमा रङहरु खेलेर मनाउने चलन रहेको छ।

सबै तस्बिर : धन कुमार कार्की/डिसीनेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *