छुट्टा छुट्टै दुघर्टनामा पाँच जनाको मृत्यु

डिसी नेपाल
३० फागुन २०७६ १६:५२

काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाही, बरहथवा नगरपालिका ५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँपालिका ४ बस्ने २३ वर्षीय सुनिल साहको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बरहथवा एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, राप्ती गाउँपालिका १ पाखापानीस्थित सडकमा रा.१ ख ६०० नम्बरको माईक्रो बसले रा.३ प ९००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १० बस्ने २७ वर्षीय अर्जुन केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका ७ हल्दुखालस्थित सडकमा म.१ प. ९५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बर्दिया घर भई हाल भिमदत्त नगरपालिका ७ बस्ने २१ वर्षीय दिनेश चन्द र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुरज धामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका ५ राजधामी चोकस्थित सडकमा को.१ ख ५७६५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने मन्जु राजधामीको ५ वर्षीय छोरा सुजनराज धामीको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई धरान घोपा हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *