कालापानीमा ‘लेभल ए’ अस्पतालसहित सशस्त्रको बेश क्याम्प

डिसी नेपाल
१ चैत २०७६ ११:३३

काठमाडौं । नेपाल-भारत सीमा विवाद भैरहेको स्थान कालापानीमा सशस्त्र प्रहरीले ‘लेभल ए’ अस्पतालसहित सुरक्षा बेश क्याम्प राख्ने भएको छ।

देशकै त्रिदेशीय सिमा क्षेत्र (कालापानी) मा सरकारी उपस्थिति हुन नसकेको र भारत अतिक्रमित क्षेत्र कालापानीसम्म पुग्ने बाटो समेत नभएको अवस्थामा सशस्त्र प्रहरीले सुरक्षा बेश क्याम्प राख्ने भएको हो।

त्यसका लागि नेपाल सरकारले आवश्यक बजेट छुट्याएर काम थालनी गरिसकेको छ। सरकारले व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङ्देखि वडा नम्बर १ छाङरुसम्म जोड्ने घोरेटो बाटो निर्माण गर्न डिपिआर तयार पारी काम शुरु गरेको छ।

सशस्त्र प्रहरी बल राख्न सिफारिस गरिएको व्याँस गाउँपालिका १ गागामा रहेको जग्गा सशस्त्रलाई उपलब्ध गराउने भए लगत्तै ‘ए लेभल’ को अस्पतालसहित सो स्थानमा सशस्त्र प्रहरीको बेश क्याम्प राख्न लागिएको सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ।

ग्त मंसिर २३ गतेको मन्त्री परिषद्को बैठकले बोर्डर अब्र्जेबेशन पोष्ट (बिओपी) स्थापनाका लागि जिल्ला स्तरबाट सिफारिस भई प्रस्ताव गरिएको जमिन दर्ता गर्न स्वीकृति दिएपछि सशस्त्र प्रहरी मूख्यालयले आफ्नो काम थालेको हो।

सो क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि गत साउन मै दार्चुलाको खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई १ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

त्यहाँ बिओपी स्थापनाका लागि अर्थमन्त्रालयले जम्मा १२ करोड विनियोजन गर्न लागेको छ । ‘कालापानीमा बिओपी स्थापना गर्न सरकारले महंगो रकम खर्च गर्नु पर्ने हुन्छ’, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने त्यो रकम विनियोजन भैसकेको छ अब चाडै नै विओपी स्थापना हुनेछ।’

१५ रोपनी जग्गा सशस्त्र प्रहरीको नाममा दर्ता भएसँगै बिओपी निर्माण गर्ने बाटो खुलेको छ । सशस्त्रले उक्त क्षेत्रमा पोस्ट निर्माणका लागि १४ करोड ६ लाख १४ हजार १७० रुपैयाँ माग गरेको थियो।

सो क्षेत्रमा सशस्त्रले भवन, खाद्यान्न भण्डार, घेरपर्खाल, सुरक्षा निगरानी पोष्ट, प्रवेशद्वार, प्रतिक्षालय, जमिन संरक्षण, जेनरेटर खरिद तथा सौर्य ऊर्जा प्रणाली जडानमा खर्च हुने सशस्त्रको दावी छ।

विरामी भए ‘ए लेभल’को अस्पताल र स्वास्थ्यकर्मीसहितको दरवन्दीसमेत माग गरेको छ । सरकारले सशस्त्रको सो दरवन्दीलाई समेत स्वीकृत दिइसकेको छ।

इलामदेखि कञ्चनपुरसम्म पुग्दा नेपाल–भारत सीमा क्षेत्र १८ सय किलोमिटर भएपनि नेपाल सरकारले सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई १५ देखि २० किलोमिटरको फरकमा बीओपी राख्न दिइएको छ।

अहिले सशस्त्र प्रहरीको कुल जनशक्ति ३७ हजार १ सय २४ जनामात्रै हो। सीमामा हुने अपराध, अतिक्रमण र नियमित सुरक्षा गस्तीका लागि परिचालित हुने सशस्त्र प्रहरी बललाई आवश्यकताअनुसार विभिन्न १३ वटा काममा लगाइँदै आएको छ।

भारतसँग सीमा जोडिएका तराईका २१ जिल्लामा सीमा सुरक्षा कार्यालय छ । सीमा सुरक्षा कार्यालय प्रायः सदरमुकाम क्षेत्रमा छ ।

एउटा सीमा सुरक्षा कार्यालयमा २ सय ५० जनाको जनशक्ति हुन्छ । जिल्ला सुरक्षा महातत हाल १ सय १५ ओटा विओपी छन् ।

एउटा विओपीमा ३५ जनाको युनिट हुन्छ । विओपी युनिटले नै सीमाको निगरानी, गस्ती र सुरक्षाको कार्य गर्ने गरेको छ ।

नेपाल भारत सीमा विवाद चर्केपछि भने सरकारले २ सय २० बीओपी संख्या पुर्याउने लक्ष्य लिएको छ ।

नेपाल भारत सीमामा २ सय २० बीओपी स्थापना भए करिब ७ किलोमिटरको फरकमा सीमा सुरक्षा गस्ती गर्न पाउने सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *