व्यापारीहरु भन्छन् – ‘बजारमा सामानको अभाव हुने सम्भावना कम छ’

डिसी नेपाल
६ चैत २०७६ १३:४५

काठमाडौं। कोरोनाभाइरसको त्रासका कारण खाद्यान्न अभाव हुने हल्ला चलिरहेका बेला ठूला सुपरस्टोरहरुले भने खाद्यान्न सुपथ मूल्यमै उपलब्ध भइरहेको बताएका छन् । भाटभटेनी, सेल्सबेरी, बिगमार्टजस्ता ठूला सुपरस्टोरहरुले सुपथ मूल्यमै खाद्यान्न विक्री वितरण गरिरहेको जानकारी दिएका हुन् ।

एक सुपरस्टोरको गोदामका व्यवस्थापक भन्छन्, ‘ हालसम्म सजिलै सामान उपलब्ध भैरहेको छ । नाकाबाट सामानहरु पर्याप्तमात्रामा आइरहेकोले हामीले सामानहरु स्टक राखेका छैनौं ।’ अहिले उपभोक्ताहरु कोरोनाबाट त्रसित भएकाले धैरै सामानहरु खरिद गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार सामान्य अवस्थामा सुपरमार्केटमा दैनिक पचास हजारको हाराहारीमा व्यापार हुने गरेकोमा अहिले दैनिक दुई लाखदेखि अढाइ लाखसम्मको कारोबार भइरहेको छ । बजार राम्रो भएको र अभावको संकेत नदेखिएकोले कुनै पनि सामान स्टोर नगरेको उनी बताउँछन् ।
खाद्यान्न आयात गर्ने थोक व्यापारी भन्छन् ‘नाका खुले सम्म हामी बजारमा सामान उपलब्ध गराउनेछौं । तर, नाका बन्द भइहालेमा भने स्टकमा रहेका सामान बजारमा सबैलाई लामो समयसम्म पु¥याउन गाह्रो हुन्छ ।’

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका एक आलु प्याज व्यापारी हेमन्तलाल श्रेष्ठ भन्छन्, ‘आलु पर्याप्त मात्रामा नेपालमै उत्पादन हुने भएकाले यसको अहिले अभाव छैन ।’ प्याज चाहीँ भारत तथा बंगलादेशबाट आउने भएकाले नाका बन्द नभएसम्म सजिलै उपलब्ध हुने र हाल यसको मूल्य पनि घटिरहको अवस्था रहेको बताए ।

नाका बन्द भएको अवस्थामा भने समस्या हुन सक्ने उनी बताउँछन् । उनले कालिमाटीमा कोरोनाको त्रासले गर्दा ग्राहकको संख्यामा १० प्रतिशत कमी आएको भएको बताउँछन् । त्रसित उपभोक्ताहरुलाई आफ्नो सरसफाई, भीडभाडमा नहिँड्न र मास्क प्रयोग गर्न श्रेष्ठले सुझाव दिए ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ भन्छन्, ‘हाम्रो बजारमा अहिलेपनि दैनिक ८५० टन खाद्यान्न आइरहेको छ, त्यो भनेको सामान्य अवस्था नै हो ।’ उनका अनुसार स्वदेशी उत्पादन साथै भारतीय उत्पादनहरुसमेत सहजै आइरहेको छ । चीनबाट आउने लसुन, प्याज, स्याउ आदि भने अहिले आउन नसकेको हुँदा केही कठिनाइ भने भइरहेको उनले बताए ।

अघिल्लो महिना लसुनको अभावको संकेत देखिएको भए पनि अहिले त्यस्तो अवस्था नभएको उनले जानकारी दिए । मौसमी तथा बेमौसमी तरकारीहरु स्वदेशी उत्पादन क्षेत्र तथा भारतबाट खाद्यान्न पर्याप्त मात्रामा आउँदा त्यसको कमी पूर्ति भएको छ र मूल्य पनि घट्दो क्रममै रहेको उनको भनाइ छ । अहिले तरकारीको मौसम सुरु भएकोले भारतले सबै नाकाहरु बन्द गरेकै अवस्थामा पनि स्वदेशी क्षेत्रबाटै धेरै मात्रामा अभावको पूर्ति हुन सक्ने उनको भनाइ छ । तत्काल भारतप्रति निर्भर हुने अवस्था नभएको उनी बताउँछन् ।

अहिले बजारको अधिकांश माग स्वदेशी उत्पादन ले नै धान्नि सक्ने अवस्था भए पनि केही बस्तुहरु भने विदेशबाट ल्याउनुपर्ने अवस्था छ । हाल भारतीय बजारबाट प्याज, कागती, विभिन्न खालका फलफूलहरु तथा माछाहरु आयात हुने गरेकोमा केही गरी नाकामा कुनै समस्या परेको खण्डमा ती वस्तुको आयात भने कम हुन सक्छ । खाद्यान्न दैनिक रुपमा आयात र बिक्रीवितरण भइरहेको र कुनै कोल्ड टोर पनि नभएकोले स्टोर नगरिएको उनी बताउछन् ।

श्रेष्ठका अनुसार ताजा तरकारीलाई भने कोल्ड स्टोरमा लामो समयसम्म राख्न हुदैन । तरकारीहरु ताजा आउने र ताजा नै बिक्री हुने हुँदा हाल स्टोर नगरेको उनी बताउँछन् । आलु, प्याज, लसुन, अदुवा आदि केही समय सम्म स्टोर गर्न सकिने श्रेष्ठ बताउँछन् । कोरोना त्रासले गर्दा दैनिक ८५० टन खाद्यान्न आयात भइरहेको भए पनि बजारमा आउने उपभोक्ताहरुको संख्या केही पातलिएको उनले बताए । खाद्यपदार्थको मूल्यमा भने धेरै उतारचढाव नभएको र महंगी नभएको उनी बताउँछन् ।

कोरोना त्रासले गर्दा स्कूल कलेज बन्द भैसकेका छन् । काठमाडौंबाट दिनहुँ बाहिरिनेको संख्या बढिरहेको छ । त्रास बढ्दै जाँदा उपभोक्ता बजारसम्म आउने परिस्थिति नहुन सक्ने र यसले किसानहरु मारमा पर्ने सम्भावना रहेको उनी बताउँछन् ।

उता कोरोना भाइरसको आडमा दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।

थोक तथा किराना व्यापारीहरुले खाद्यान्नको कृत्रिम अभाव गराएको पाइएको उनले बताए । किरान व्यापारीहरुले सामानहरु पर्याप्त मात्रामा नाकाबाट नै नआएको बताउँदै सामानहरु लुकाई कृत्रिम अभाव सृजना गरेर सामानहरुको मूल्य वृद्धि गरेको पाइएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *