नेपाली मूलकै लागि अमेरिकाबाट नेपाल जाने भिसा मुस्किल

डिसी नेपाल
८ चैत २०७६ १९:००

वासिंगटन डिसी । उता, नेपालमा भूतपूर्व प्रधानन्यायाधिश ओमभक्त श्रेष्ठको निधनमा सर्बोच्च अदालतले देशभरका अदालतमा शोक मनाउँदै अदालती कारवाही एक दिनका लागि बन्द गर्यो यता अमेरिकामा भने उनकी छोरी आफ्नै स्वर्गीय पितालाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल जान पाइनन् ।

डिसीस्थित नेपाली दूतावासले उनका लागि भिसा दिन सकेन । राजदूतावासले उनलाई आफूलाई कोरोना भाइरसको सक्रमण नभएको प्रमाणित गरेर ल्याउन भन्यो जुन तत्कालका लागि अमेरिकामा सम्भव छैन । कुनै लक्षण नै नभएको व्यक्तिको स्वाव टेष्ट गर्ने कुनै स्वास्थ्य संस्थाको नीति नहुँदा उनले प्रमाण देखाउन सकिनन् । त्यसैले आफ्ना पिताको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिन नेपाल जाने भिसा उनले पाइनन् ।

छिमेकी मुलुक चीनबाट उत्पत्ति भई संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरस कोभिड १९ का कारण नेपालले आफ्नै नागरिक र नेपाली मूलका विदेशी नागरिकलाई समेत नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि आपतकालीन अवस्थामा स्वदेश फर्किनु पर्ने नेपालीहरु तनावमा परेका छन् भने दूतावासहरु दवावमा परेका छन् ।

अमेरिकामा अध्ययनरत भट्ट थरका एकजना विद्यार्थीको हालत पनि उस्तै छ । परम्परागत धार्मिक संस्कारअनुसार, उनले आफ्ना स्वर्गीय पिताको अर्थी उठाएर घाटमा अन्तिम श्रद्धाञ्जलिस्वरुप दागबत्ती नै दिनुपर्ने थियो । तर, उनी भिसा नपाएर अमेरिकैमा अड्किएका छन् । उनलाई कोभिड १९ भाइरसको कुनै संकेतसम्म छैन तर उनलाई स्वाव टेष्टको रिपोर्ट ल्याएमात्र भिषा दिने जानकारी दूतावासले दिएको छ । असम्भव माग गरेका कारण उनी आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी हुन नपाएर अमेरिकामै शोकमग्न भएका छन् ।

अनौपचारिक तथ्यांकअनुसार, झण्डै ७० लाख नेपालीहरु मुलुकबाहिर बस्छन् । राज्यले लिएको नीतिका कारण आफूहरुमाथि पारिवारिक विपत्ति पर्दा पनि उनीहरु नेपाल जान नसक्ने अवस्थाले विदेशमै छट्पटाउनु पर्ने भएको छ । स्वदेशभित्र कोरोना भाइरसको संक्रमण नहोस् भनेर निर्मम भएको नेपाल सरकारले अत्यन्त संवेदनशील संस्कारजन्य समस्याका बारे भने कुनै उपाय सोच्न सकेको छैन ।

अहिले डिसीस्थिति नेपाली दूतावासमा अर्को पनि यस्तै समस्या थप भएको छ त्यो हो अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको दैनिक जीवन गुजारा । अमेरिकामा कोरोना अति प्रभावित राज्यहरुमा प्राय सबै होस्टेलहरु खाली गरिएका छन् । विद्यालय र विश्वविद्यालयहरु बन्द गरिएका छन् । आवासीय विद्यार्थीहरुले होस्टेल छोड्नु परेपछि आफन्त हुनेले आफन्त र नहुनेले चिनेजानेका र अन्य नेपालीका निवासहरुमा बस्नुपरेको स्थिति छ । यी विद्यार्थीहरुले नेपाल फर्किन चाहेका छन् तर दूतावासले यात्रा अनुमति दिन सकेको छैन ।

गैरआवासीय सदस्यता कार्ड लिएका नेपालीहरुलाई समेत नेपालको विमानास्थलबाट दिइने गरेको अनअराइभल भिसा तत्कालका लागि रद्द गर्ने निर्णय नेपाल सरकारले गरेपछि दूतावासले भिसा जारी गर्नु पर्ने अवस्था आएको छ । तर, आपतकालीन अवस्था परेको भन्दै आएका भिसा आवेदनहरुमा कोरोना स्वाव टेष्टको रिपोर्ट नहुँदा कसैलाई पनि भिसा जारी हुन सकेको छैन ।

अप्रिल २० तारिकमा नेपालमा विवाह तय भइसकेका एक व्यक्तिले भिसा सो समयमा नेपाल जान सकिने नसकिनेबारे अहिलेदेखि नै दूतावाससँग समन्वय गरिरहेका छन् तर दूतावाससँग उनलाई दिनसक्ने उत्तर केही छैन । किनकि यो महामारीले कहिलेसम्म कस्तो रुप लिने हो भन्ने कुरा कसैको वशको विषय नै होइन । तर, ती बेहुलाका लागि दूतावासले कहिले भिसा जारी गर्न सक्छ ? भन्ने अन्योल पनि यथावत छ ।

यी प्रसंग प्रधानमन्त्री केपी शर्मा ओलीले मार्च १९ गते गरेको सम्बोधनभन्दा अघिका हुन् । उनको सम्बोधनले एकहप्ताका लागि विदेश आवत जावत गर्ने सबै हवाइ यातायात नै बन्द गर्ने घोषणा गरेकाले तत्कालका लागि जे परे पनि नेपाल जाने सम्भावना समाप्त नै भएको छ । सम्बोधानका क्रममा विदेशमा बस्ने नेपालीको समस्या आफूले बुझेको प्रधानमन्त्रीले बताएका छन् तर जटिल मानवीय र संस्कारजन्य विषयमा के गर्ने भन्ने कुनै बैकल्पिक उपाय भने केही सुझाइएको छैन ।

डिसीस्थित नेपाली दूतावासका उपप्रमुख जीवनप्रकाश श्रेष्ठले पिताको देहवसानका कारण नेपाल जानुपरेका जस्ता केसहरु आएको भए पनि स्वाव टेष्ट अनिवार्य गरिएकाले भिसा जारी गर्न नसकिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको मार्च २० को सम्बोधनपछि कम्तिमा एकहप्ता हवाइ यातायात नै नेपालमा बन्द गरिएकाले तत्काल यात्राको सम्भावना पनि टरेको छ ।’ यसअघि स्वाव टेष्ट नगरी विभिन्न देशबाट नेपाल पुगेका ८४ भन्दा बढी व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट फिर्ता गरिएका समाचारहरु पनि बाहिरिएका छन् ।

मुस्किल बनाइयो पासपोर्ट रिन्यू

अमेरिकास्थित नेपाली दूतावासले यहाँ हुने नेपालीहरुका लागि नयाँ मेसिन रिडेवल पासपोर्ट बनाउन दूतावास नै पुग्नु पर्ने बाध्यकारी व्यबस्था गरेको छ । पहिला हस्तलिखित पासपोर्ट हुनेहरुका लागि यस्तो व्यबस्था गरेको हो । यसअघि हुलाकमार्फत पनि आफ्ना डकुमेण्टहरु पठाएर पासपोर्ट रिन्यू गर्न सकिने व्यबस्था थियो ।

केही दिनअघि दूतावासबाट जारी सूचनाअनुसार, यो व्यबस्था खारेज गरी यसअघि एमआरपी नलिएकाहरुका लागि स्वयं उपस्थित भएमात्र पासपोर्ट रिन्यू अर्थात् नयां एमआपी पासपोर्ट जारी हुने छ । एउटा सिंगै महादेश नै एउटा देश भएकाले अमेरिकाभर छरिएर रहेका नेपालीका लागि यो व्यबस्थाले मुस्किल भने थपिदिएको छ । नियोग उपप्रमुख श्रेष्ठले सिष्टमले नै फोटो खिचेर रेकर्ड राखी एमआरपी बनाउनु पर्ने भएकाले विगतमा एमआरपी नहुनेहरुका लागि आफै आउनुपर्ने व्यबस्था गरिएको बताए । पासपोर्टको दुरुपयोग नहोस् भन्नका लागि पनि यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *