कोरोना भाइरस संक्रमण : राज्य बलियो र जनता चनाखो हुन आवश्यक

विश्वलाई आफ्नो चपेटामा लिइरहेको कोराना भाइरस (कोभिड–१९) को सुरुवात चीनबाट भएपनि चीनले भन्दा ठूलो क्षति युरोपेली मुलुकले व्यहोरिरहेको अवस्था छ। यस किसिमको समस्या पहिलो पटक आएको होइन र मानिसको मृत्यु हुनुमात्रै, कुनै जीवाणु देखिनुमात्रै समस्या होइन ।

यस्ता समस्या डेंगुको जीवाणु देखिँदा पनि आए, त्रास फैलियो। इवोलाले पनि ठूलो मानवीय क्षति भयो। अहिले कोरोनाभाइरसले ठूलो समस्या निम्त्याएको छ र यो समस्या मात्रै अन्तिम समस्या होइन ।

यसको प्रकोप केही समयमा नियन्त्रण होला तर यस्ता समस्या फेरि नआउलान् भन्ने छैन। फेरि पनि अरु कुनै रुपमा यस्ता प्रकोप आउन सक्छन्।

यस्तो समस्या पहिलो पटक आएको होइन, यसअघि पनि पटक पटक आएका छन्। तर कोरोना भाइरस यस्तो प्रकारले छोटो समयमा संसारभर यसरी फैलियो र जनमानसमा यस्तो त्रास पैदा गर्यो यो प्रकोपको परिमाणको आधारमा निकै ठूलो हो।

जसको उपचार छैन, हालसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन, जसको सुरुवातमा कुनै लक्षण छैन र थाहा पाइँदैन।

कुनै रोगको सुरुवात थाहा हुने र औषधि हुने हो भने यति ठूलो त्रास जनमानसमा फैलिने थिएन होला। तर सुरुवाती लक्षण थाहा नहुने र अन्तिम स्टेजमा मात्र लक्षण देखिने त्यसमाथि यसको कुनै निश्चित औषधि नै नभएको हुँदा मानिस बाँच्ने संभावना कम हुने बताइन्छ। यसरी बुझ्दा मानिसहरु कोरोना भाइरसका कारण त्रासमा पर्नु स्वभाविक नै हो।

हाम्रो मुलुक यतिबेला निकै अप्ठेरो अवस्थामा छ। भौगोलिक र सामाजिक बनावट, संचार यातायात र स्वास्थ्यकर्मी र स्वाथ्य निकायको भूमिकाको हिसावले एकदमै अप्ठेरो परिस्थितिमा रहेको तथा संसारका अन्य मुलुकको भन्दा फरक किसिमको समस्या व्यहोरी रहेको अल्पविकसित, विकासोन्मुख मुलुकको नाताले नेपालमा कोरोना प्रवेश गर्यो भने यसले धेरै क्षति पुर्याउने देखिन्छ।

ढिलै भएपनि सरकारले यसप्रतिको गम्भिरता देखाएको छ। जनता पनि आफैंमा धेरै सजग पनि देखिए। यद्यपि यी तमाम प्रयासका बावजुद नेपालमा कोरोना प्रकोप फैलिने ठूलो खतरा कायमै छ । सतर्कता अझै बढाउनुपर्ने आवश्यकता छ ।

भौगोलिक र सामाजिक बनावट, संचार यातायात र स्वास्थ्यकर्मी र स्वाथ्य निकायको भूमिकाको हिसावले एकदमै अप्ठेरो परिस्थितिमा रहेको तथा संसारका अन्य मुलुकको भन्दा फरक किसिमको समस्या व्यहोरी रहेको अल्पविकसित, विकासोन्मुख मुलुकको नाताले नेपालमा कोरोना प्रवेश गर्यो भने यसले धेरै क्षति पुर्याउने देखिन्छ।

अर्को पक्ष कोरोनाको आशंकामा अस्पताल पुगेका विरामीलाई डाक्टरले चेकजाँच नगर्ने, भर्ना नलिएको भन्ने समाचार पनि संचारमाध्यममा आएका छन्। यसले झनै ठूलो त्रास के पैदा गर्यो भने आशंका गरिएको बिरामीकै छेउमा अर्को नपर्ने, स्वास्थ्यकर्मी नपर्ने देखियो। अपराधीको ठाउँमा सुरक्षा निकायमा मानिस नै नजाने र विरामीको छेउमा डाक्टर नजाने अनि राज्यको आदेश नै पालना नगर्ने हो भने के होला स्थिति?

यो समस्या नौलो देखियो। केही डाक्टरहरुले आफूहरुलाई पर्याप्त किट नै उपलब्ध नगराइएको र आशंका गरिएका बिरामीको छेउमा जान आफैंलाई डर लाग्ने गरेको समेत सामाजिक संजालमार्फत प्रतिक्रिया दिए। यसले पनि जनतामा त्रासको माहोल बढाउन सघाएको छ।

समस्या यतिमात्रै होइन, यहाँ लाशको राजनीति गर्नेदेखि लिएर समस्यामा सम्पत्ति कमाउन खोज्ने कम छैनन्। आज बजारमा जे जे कुराको अभाव हुन पुगेको छ, यी सबै अभाव अपुगले मात्र होइन। कालोबजारीले सृजना गरेको अभाव हो। त्यो कुरा दैनिक प्रहरीले पक्राउ गरेका र बदामद गरेको हिसावले पनि पुष्टि हुन्छ। दश रुपैयाँको मास्क ८० रुपैयाँसम्म बिक्री भएको देखिएको छ।

ग्यासको सिलिण्डर कार्टेलिङ भएको छ। फलानो होटल र फलानो रेस्टुरेन्टमा पुर्याइ दिनुपर्ने भनेर साइकलमा हालेर केही पर पुगेर दुई सयदेखि पाँच सयसम्म बढीमा बेच्ने गरेको देखिएको छ। यो त सानाको कुरा हो।

ठूलोको अर्कै छ, ट्रक ट्रकबाटै र बाटोबाटै बेच्ने वा लुकाउने हुँदै आएको छ। यस किसिमको समस्याको समाधान राज्यले गर्न नसक्दा र कोरोनाको त्रासमा कालोबजारी मौलाउने र तस्कर मोटाउने दुई नम्बरी मेटाउने त्रास अर्को छ।

लेखक : जगदीश दाहाल

यो समस्याको अहिले त सुरुवात मात्रै छ, कतिले पैसा कमाउने योजना बनाएका होलान्। कतिपय अड्डा अदालत बन्द भएका होलान् होटल उद्योग बन्द हुँदा घाटा व्यहोर्नु पर्यो भन्ने गुनासो पनि होलान्।

कतिपय रोजीरोटी जाने चिन्तामा होलान्। कतिपय रमाइलो गर्ने, विदा मनाउने, गाउँ जाने वा परिवारसँग बसेर रमाइलो गर्नेहरु पनि होलान्। यो सुरुको अवस्था हो, तर यही अवस्था अझै लम्बिन पुग्यो भने मुलुकको आर्थिक अवस्था के होला? के होला आम नागरिकको हालत?

अमेरिकाले केही राहतका लागि संकटमोचनका लागि भनेर केही पैसा पठाएको छ, चीनले केही प्राविधिक पठाएर सहयोग गर्छु भनेको छ। तर यसले के हुन्छ? यो कोरोना भाइरस कति समयसम्म रहने हो भन्ने मुख्य समस्या हो।

यो बीचमा कसरी आम जनतालाई बचाउने हो, उपभोग्य वस्तुको आपूर्ति कसरी मिलाउने हो, यसमा राज्य कति गम्भीर छ? यो कुराले जनता बढी पिरोलिएका छन्। यो विषयमा राज्यले नागरिकलाई आवश्वस्त पार्न जरुरी छ।

राज्यले उत्पादनमा निर्भर जनसंख्या यति, रोजगारीमा निर्भर जनसंख्या यति, वृद्ध आश्रित जनसंख्या यति, बालबालिका यति र दैनिक उपभोग्य वस्तु आपूर्ति हुनुपर्ने यति, राज्यसँग यति स्टक छ, आवश्यक परेको बेलामा राज्यले यो ठाउँबाट यसरी आपूर्ति गरेर समस्या समाधान गर्छ भनेर जनतालाई राज्यले आश्वस्त पार्न सक्नुपर्छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position