कोभिड–१९ : अस्थायी चार अस्पताल सञ्चालन तयारी
राजविराज । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै सप्तरीको चार स्थानमा ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्पतालमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ। ती अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न तयारी गरिएको जनाइएको छ ।
यहाँस्थित हनुमानगर रोडमा बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।
प्रजिअ खनालको नेतृत्वमा भीमदल गणका प्रमुख गुप्तबहादुर कुँवर, राजविराज नगरपालिकाका प्रमुख यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसार्इं, सशस्त्र प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपानेसहितको टोलीले ती अस्थायी अस्पतालका लागि छनोट गरिएका चारवटै अस्पतालको स्थलगत निरीक्षण समेत गरेका छन्।
जिल्लाको बोदे बर्साइन नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा शनिबारदेखि बन्द गरी आवतजावतमा रोक लगेको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment