माथिल्लो तामाकोशी आयोजनामा देखिएन कोरोना असर

डिसी नेपाल
९ चैत २०७६ १८:२२

काठमाडौं । कोरोना भाइरस (कोभिड —१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन् ।

आगामी असार मसान्तमा सम्पूर्ण परीक्षणको काम सक्ने तयारीका साथ राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको काम अघि बढिरहेको छ ।

आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या नआएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले चिनियाँ ठेकेदारका कारण कुनै समस्या नदेखिएको बताए । चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै काममा संलग्न गराइएको उल्लेख गर्दै उनले आयोजनाको काम तिव्र गतिमा अगाडी बढिरहेको बताए ।

उनले भने, ‘चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर काममा फर्काइएको छ । थोरै समस्या कन्सल्ट्याण्टहरुबाट भएको छ । युरोपमा कोरोनाको प्रभाव बढी छ अहिले अनलाईनबाट भएपनि उहाँहरुले काम गरिरनुभएको छ । त्यो वातावरण मिलाएका छौँ ।’

आयोजना अनुगमनका लागि आइतबार निर्माणस्थलमा पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशीको काम सन्तोषजनक ढंगले अगाडी बढिरहेको बताए । आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै सम्पन्न गर्नेगरी काम अघि बढेको बताए । उनले भने, ‘निर्धारित समयमै पुरा गर्ने संकल्पका साथ काम भक्ष्रहेको छ ।

आज (आइतरबार) हामीले ड्यामको परीक्षण भइरहेको छ । र सफल देखिएको छ ।’ मन्त्री पुनले आगामी वर्षबाट विद्युत उत्पादन मात्रै नभएर विद्युत निर्यात गर्ने अवस्थमा पुगिने बताए । उर्जा मन्त्रालय मात्रै नभएर सिंगो सरकार आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको उल्लेख गर्दै उनले जनताको समेत लगानी भएकाले निर्धारित समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिलेसम्म गरिएका सबै परीक्षणहरु सफल भएको बताए । ड्यामको परीक्षण सकिएपछि केही मर्मत गर्नुपर्ने अवस्थामा पानी फालेर मर्मत गरिने उनले बताए । असार मसान्तसम्म काम सक्ने लक्ष्य लिइएको उनले बताए ।

राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता ४ सय ५६ मेगावाट हो । नेपाली लगानी र नेपाली प्रविधिबाट बनिरहेको बहुप्रतिक्षित आयोजनाको काम केही समय भूकम्पका कारण पर धकेलिएको थियो । पछिल्लो समयमा भारतीय कम्पनी टेक्सम्या एण्ड इन्जिनियरिङका कारण काममा ढिलाई भएको हो ।

हाइड्रोमेकानिकल वक््रसको जिममा लिएको टेक्सम्याले सन्तोषजनक काम गर्न सकेन् । केही समय डिजाईन परिवर्तन गरेका कारण पनि निर्माणमा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

सो समयमा पनि निर्माण सम्पन्न हुन सकेन् । विभिन्न युनिटमा काम भइरहेको आयोजनाको असार मसान्तमा एक युनिटको मात्रै काम सम्पन्न गरेर भएपनि परीक्षण गर्ने लक्ष्य लिइएको छ । आइतबार उर्जामन्त्री पुन, प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ, योजना आयोगका उपाध्यक्ष लगायत अन्य सरकारी अधिकारीहरुले आयोजनाको निरीक्षण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *