खतरनाक बन्दै कोरोनाभाइरसः २१ वर्षे जवान युवतीको ज्यान लियो जसलाई कुनै रोग थिएन

डिसी नेपाल
१३ चैत २०७६ ८:३१

काठमाडौं। कोरोनाभाइरस तुलनात्मक रुपमा कमजोर भाइरस भएको र यसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई धेरै आक्रमण गर्ने विश्वास गरिएको थियो । अहिलेसम्म देखिएका घटनामा यसबाट ज्यान गुमाउनेहरु धेरैजसो पाको उमेरका वा पहिलेदेखि कुनै रोगबाट ग्रस्त मानिसहरु थिए । तर, बेलायतमा यो भाइरस निकै शक्तिशाली बन्दै गएको पाइएको छ । यहाँ यो भाइरसले २१ वर्षकी जवान युवतीको ज्यान लिएको छ जो पहिले कुनै पनि रोगबाट पीडित थिइनन् ।

रिपोर्टका अनुसार उनी कोरोनाभाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरकी बेलायती नागरिक भएको मानिएको छ, जसलाई पहिले कुनै रोग थिएन । बेलायतको बकिंघमशायरकी क्लोए मिडल्टनकी आमाले सामाजिक संजालमा लेखेको पोस्ट अहिले भाइरल भएको छ । पूरै देशले क्लोएलाई श्रद्धाञ्जलि दिएको छ । बेलायतमा ट्वीटर र फेसबुकमा ‘आरआइपी क्लोए’ ट्रेण्ड गरिरहेको छ । क्लोएका परिवारका अनुसार उनलाई पहिले कुनै रोग थिएन । उनका परिवारले विश्वभरका मानिसहरुसँग भाइरसलाई हल्का रुपमा नलिन अपिल गरेका छन् । उनीहरुले सबैसँग घरमै रहन र अरुलाई घरमै रहन जागरुक बनाउन अपिल गरेका छन् ।

विश्वभर कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । यद्यपि यो भाइरसको प्रकोप सुरु भएको चीनको वुहानमा भने यसको संक्रमण दरमा निकै कमी आइसकेको छ । इटली, स्पेन लगायतका युरोपेली देश अहिले सबैभन्दा धेरै यो संकटको सामना गरिरहेका छन् । यहाँ मृत्युको संख्या दैनिक सयौंका दरले बढिरहेको छ । इङल्याण्ड र अमेरिकामा पनि यसको प्रकोप उच्च छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *