कोरोनाभाइरसको अस्तव्यस्तताकाबीच आशा पाँच जगाउने कारण

डिसी नेपाल
१५ चैत २०७६ १८:२१

बीबीसी । हामीलाई थाहा भएकै कुरा हो, कोरोनाभाइरसको प्रकोप फैलदै जाँदा विश्वभरका मानिसहरूका निम्ति यो खराब समय बन्न पुगेको छ।

सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। शहर होइन पूरै देशहरू नै बन्द गरिएका छन्। कैयौँ मानिसहरू आइसोलेशनमा बस्न बाध्य बनाइएका छन्।

तर चिन्ताका सबै समाचारहरूबीच यहाँ आशा देखाउने त्यस्ता केही कारण पनि छन्।

प्रदूषणमा कमी

भाइरस सङ्क्रमणलाई लिएर देशहरूमा लकडाउन गरिँदा प्रदूषणको तह निकै महत्त्वपूर्ण मात्रामा तल झरेको छ।

चीन र उत्तरी इटलीमा गम्भीर वायु प्रदूषणको कारक र उष्णता वृद्धिमा योगदान दिने शक्तिशाली रसायन नाइट्रोजन डाइअक्साइडमा निकै गिरावट आएको मापन गरिएको छ। कारको आवागमन र औद्योगिक गतिविधिमा भएको कटौतीलाई त्यसको कारण ठानिएको छ।

न्यूयोर्कस्थित अनुसन्धानकर्ताहरूले बीबीसीलाई बताए अनुसार मुख्यगरी कारबाट उत्सर्जन हुने कार्बन मोनोक्साइड गत वर्षको तुलनामा करिब ५० प्रतिशत घटेको देखिएको छ।

वायुसेवा कम्पनीहरूले एकसाथ उडानहरू रद्द गरेका छन्। कैयौँ देशमा दशौँ लाख मानिसहरूले घरमै बसेर काम गरिरहेका छन्। विश्वभरीका देशहरूले त्यही बाटो पछ्याउने ठानिएको छ।

नदी–नाला सफा

इटलीको भेनिस सहरका बासिन्दाले सहर हुँदै बग्ने प्रसिद्ध खोलाहरूको पानीको गुणस्तरमा निकै सुधार आएको महसुस गरेका छन्। उत्तरी इटलीको उक्त लोकप्रिय पर्यटकीय गन्तव्यका सडकहरू खाली छन्।

प्रकोपका कारण उत्पन्न त्यस परिस्थितिले जलक्रीडामा निकै गिरावट आएपछि त्यसले फोहर थिग्रिन सहयोग गरेको हो। सामान्यतया धमिलो पानी निकै सफा भएको छ जसले गर्दा माछा पनि देखिन सक्छन्।

उदार व्यवहार

विश्वभरी अत्यासपूर्ण किनमेल र झगडाहरू भएका कैयौँ खबरहरू छन्। तर भाइरसले दयालु र उदार व्यवहारका निम्ति प्रेरित पनि गरेको पाइएको छ। दुईजना न्यूयोर्कबासीले सहरका बृद्ध र जोखिममा रहेका मानिसहरूलाई औषधी र सामान पुर्‍याउन ७२ घन्टाभित्रै १३ सय स्वयम्‌सेवक तयार गरे।

फेसबुकले ब्रिटेनमा दशौँ हजार मानिसहरू स्थानीय सहयोग समूहहरूमा जोडिएको जनाएको छ। त्यस्तै समूहहरू क्यानडामा पनि बनेका छन्। अस्ट्रेलियामा सुपरमार्केटहरूले बृद्ध र अपाङ्गता भएकाहरूले सहज ढङ्गले किनमेल गर्न सकुन् भनेर छुट्टै समय तोकेका छन्।

मानिसहरूले चन्दा दान गरेका छन्। कैयौँले आइसोलेशनमा रहेका बृद्धहरूलाई प्रेरक सन्देशहरू पठाएका छन्, कसरत र पकवान विधिबारे जानकारी प्रवाह गरेका छन्। आफ्नो व्यापारलाई खानेकुरा वितरण गर्ने केन्द्रमा रूपान्तरण गरेका छन्।

एकताबद्ध

मानिसहरू कार्यालयको काम र घरेलु जीवनका कारण सधैँजसो आफ्नो आसपासका मानिसहरूबाट टाढिएका हुन्छन्। भाइरसले हामी सबैलाई यसरी प्रभावित तुल्याएको छ कि संसारभरी कैयौँ समुदायलाई नजिक ल्याएको छ।

देशव्यापी लकडाउन गरिएको इटलीमा मानिसहरू आ-आफ्नो घरको कौशीमा बसेर मनोबल उच्च पार्ने गीत गाउँदै एक आपसमा जोडिए। दक्षिणी स्पेनमा एकजना शारीरिक अभ्यासका प्रशिक्षकले एउटा बहुतल्ले भवनको बीचमा रहेको छतबाट कसरत सिकाउने कामको अगुवाइ गरे। एक्लिएर बसिरहेका त्यस भवनका बासिन्दाले आ(आफ्नो कौशीमा बसेर त्यो अभ्याससँग जोडिए।

धेरै मानिसहरूले साथी र आफ्ना प्रियजनहरूसँग फोन र भिडियो कलमार्फत् जोडिने अवसरको रूपमा लिएका छन्। साथीहरूका समूहहरूले मोबाइल एपको प्रयोग गरेर भर्चुअल भोज आयोजना गरेका छन्।

भाइरसले आवश्यकीय सेवाहरूमा काम गर्ने र स्वास्थ्यकर्मीहरूको महत्त्व पनि उजागर गरेको छ। हजारौँ युरोपेलीहरूले आफ्नो घरको झ्याल र कौशीमा उभिएर भाइरससँग लडिरहेका डाक्टर र नर्सहरूको प्रशंसामा आवाज गुञ्जाएका छन्। लन्डनमा मेडिकल विद्यार्थीहरू स्वास्थ्य कार्यकर्ताहरूलाई स्वेच्छिक रूपमा सघाउन जुटेका छन्।

सृजनशीलतामा बृद्धि

दशौँ लाख मानिसहरू आइसोलेशनमा रहँदा कैयौँले सृजनशील बन्ने अवसरको रूपमा पनि उपयोग गरेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफ्ना नयाँ रुचिका विस्तृत विवरण सार्वजनिक गरेका छन्।

जसमा पेन्टिङ गर्ने, पढ्ने, पकाउने र बुन्ने काम लगायत छन्। वाशिङ्गटनस्थित डीसी पब्लिक लाइब्रेरी भर्चुअल बुक क्लब सुरु गर्नेमा पर्छ। इटलीमा ुकिचेन क्वारन्टीनु श्रृङ्खला इन्स्टाग्राममा सुरु गरिएको छ।

जसमा घरभित्रै रहेकाहरूलाई परिकार बनाउन सिकाइन्छ। अमेरिकी राज्य टेनेशीका एकजना कला शिक्षकले घरभित्रै सृजनशील बनाउन विद्यालय जान नपाएका विद्यार्थीहरूका निम्ति प्रत्यक्ष प्रसारणको कक्षा चलाइरहेका छन्।

धेरै सार्वजनिक स्थलहरू बन्द रहेकाले कलाका पारखीहरूले विश्वका ठूला ग्यालरीहरूको इन्टरेनटमार्फत् भ्रमण गरिरहेका छन्। कोठाबाटै भ्याटिकन सङ्ग्राहलयका मूर्तिकलाहरू र प्यारिसस्थित लुभ्रको प्रख्यात पेन्टिङ हेरिरहेका छन्। अस्ट्रेलियाको सिड्नी अब्जरभेटरीले घरभित्र बन्द रहन पुगेका मानिसहरूका निम्ति रात्रिकालीन आकाश यात्रा आयोजना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *