कामपाका सबै स्थानमा नियमित फोहर संकलन हुने, फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणको कारण व्यवस्थापनमा समस्या हँुदा फोहर नउठे पनि आगामी दिनमा नियमित फोहर संकलन हुने दृढता व्यक्त गरे ।

केही दिनअघि बानेश्वर, कोटेश्वर, अनामनगरलगायत स्थानमा नियमित फोहर नउठेको स्थानीय गुनासो आएपछि प्रमुख शाक्यले आगामी दिनमा कुनै स्थानको फोहर व्यवस्थापनमा समस्या आए ११८० मा फोन गर्न आग्रह गरे । फोन आएपछि तत्काल कामपाको फोहर संकलन गर्ने सवारी साधन आउने उनले ठोकुवा गरे । फोहर मात्रै नभई अहिलेको विषम परिस्थितिमा अन्य कुनै समस्या परे पनि आफ्नो सम्बन्धित वडा कार्यालयमा जानकारी गराएर सहजीकरण गर्न पनि उनले सबै नागरिकलाई आग्रह गरे ।

विश्वभर फैलिएको कोभिड – १९ को संक्रमण फैलन नदिन सरकारले यही ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका समयमा दैनिक उपभोग्य वस्तुको कुनै समस्या परे सम्बन्धित वडा कार्यालयलाई सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरे । उनले दैनिक खाद्य वस्तुको अभाव सिर्जना हुन नदिन पनि कामपाले नियमित अनुगमन गरिरहेको भन्दै कतै कालोबजारी भएको भए खबर गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

कामपाले कोभिड–१९ थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई पनि तीव्र बनाएको छ । यसक्रममा बिहीबार बबरमहल, बानेश्वर, तीनकुने, सिनामंगल, जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज, वसन्तपुर र यसका आसपास भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख शाक्यका अनुसार बाक्लो बस्ती, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताए ।

सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले औषधि छर्न शुरु गरेको हो । कामपाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ । मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका स्थान असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा औषधि छर्कने कार्यको शुरुआत भएको हो ।

कामपाले अहिले दैनिक चार हजार लिटर क्षमताका दश ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार ट्याङ्कर थप गर्न सकिने सापकोटाले बताए। प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए । यससँगै कामपाले ब्रुमरले सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ । आवश्यक पर्दाका समयमा खबर गर्नका लागि कामपाका सबै वडाध्यक्षको फोन नम्बर सार्वजनिक गरिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position