अझै कति दिन घरमै बस्ने ? लकडाउनको समय थप्ने अन्तिम तयारी हुँदै

डिसी नेपाल
१६ चैत २०७६ १२:१२

काठमाडौं। सरकारले कोरोभाइरस फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै गरेको लकडाउनको अवधि थप्ने तयारी थालेको छ । लकडाउनको अवधि भोलि सकिँदैछ । यसपछि कति समयका लागि लकडाउनको अवधि थप्ने भन्ने निश्चित छैन तर लकडाउनको अवधि भने थपिने सम्भावना बलियो भएको स्रोत बताउँछ ।

सरकारले लकडाउनको घोषणा गर्दा देशमा १ जना मात्र संक्रमित थिइन् । अर्का एक संक्रमित निको भइसकेका थिए । तर, पहिलो पटक तोकेको लकडाउनको अवधि सकिनै लाग्दा संक्रमितको संख्या ५ पुगिसकेको छ जबकि यो अवधिमा कुनै पनि बिरामी ठिक भएर फर्केका छैनन् । अहिले देशमा ‘एक्टिभ केस’को संख्या ४ छ ।

पहिलो पटक लकडाउनको घोषणा एउटा मात्र ‘एक्टिभ केस’ हुँदा गरिएको थियो । तर, अहिले ४ एक्टिभ केस र तीमध्येका २ केस उपत्यकाबाहिर भएकोले सरकारमाथि लकडाउनको अवधि थप गर्न दबाब बढेको छ ।

सरकारले घोषणा गरेको पहिलो चरणको लकडाउनको समय भोलि सकिँदैछ। तर, देशमा कोरोना भाइरस संक्रमित बिरामीको सङख्या बढिरहेको छ। अहिलेसम्म पाँच जनामा संक्रमण देखिसकेको छ। संक्रमण देखिएका पाँचै जना विदेशबाट आएको खुलेको छ। भोलिबाट सरकारले लकडाउनको समय थप्ने तयारी गरिरहेको छ।

नेपालले लकडाउनको अवधि एक हप्ता तोकेको भोलिपल्टै भारतले पनि लकडाउनको घोषणा गरेको थियो । भारतले भने ३ हप्ताको लागि लकडाउनको अवधि तोकेको छ । भारतले ३ हप्ता लकडाउन गरेको पृष्ठभूमिमा नेपालले पनि भारतकै जति अवधिका लागि लकडाउनको तयारी गरेको स्रोत बताउँछ । तर, यसका लागि २ पटक १–१ हप्ताको लागि अवधि थप्ने वा एकैपटक २ साताको लागि लकडाउन गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।

सरकारले कोरोनाभाइरको सम्भावित खतरासँग जुध्ने रणनीति बनाउन गठन गरेको उच्चस्तरीय समन्वय समितिमा केही दिनदेखि लकडाउनको समय थप गर्ने विषयमा छलफल भइरहेको छ । एकैपटक २ हप्ता थप्ने वा तत्कालको लागि १ हप्ता मात्र थप्ने विषयमा छलफल केन्द्रित भएको स्रोत बताउँछ । यद्यपि समय थपिने भने निश्चित जस्तै भएको स्रोतले जानकारी दियो ।

संक्रमितहरु सबै विदेशबाट आएका हुन् । तीमध्ये दोस्रो संक्रमित र पाँचौं संक्रमित एउटै विमानमा आएको खुलेको छ । दुवै १९ वर्षका महिला विद्यार्थी हुन् । एउटै विमानमा आएका २ जनामा करिब ५ दिनको अन्तरमा संक्रमण पुष्टि भएपछि सरकारलाई त्यो जहाजमा आएका अरु सबैलाई खोजेर परीक्षण गर्ने र क्वारेन्टाइमा राख्नुपर्ने दबाब छ ।

यससँगै अन्य संक्रमितका सम्पर्कमा रहेकालाई पनि खोज्नु पर्नेछ । लकडाउन खुलेमा ती सम्पर्कमा आएका व्यक्तिहरु थप अरुसँग सम्पर्कमा जाने खतरा छ । यसले पनि सरकारलाई ल्कडाउन थप्नैपर्ने स्थिति सृजना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *