लकडाउनको अवधि थप गर्न सिफारिस, मन्त्रिपरिषद बैठकले आजै अन्तिम निर्णय गर्ने

डिसी नेपाल
१६ चैत २०७६ १५:५९

काठमाडौं। एक हप्तादेखि जारी लकडाउनको अवधि थप गर्ने कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको छ । समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गर्दै यसबारे अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा पठाएको छ । अब यसबारे अन्तिम निर्णय आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको आज दिउँसो बसेको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । आजै ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । यो बैठकले यो निर्णयलाई अन्तिम रुप दिनेछ । समितिले ७ देखि १४ दिनसम्म लकडाउन अवधि थप गर्न सिफारिस गरेको स्रोतले बतायो । कति अवधिका लागि थप गर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले नै गर्नेछ ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि पर्सी बिहान ६ बजेदेखि सकिँदैछ । तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । तीमध्ये ४ जना ‘एक्टिभ प्यासेन्ट’को अहिले उपचार भइरहेको छ । एक जना भने निको भएर फर्किइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *