कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन कुकुरलाई तालिम
बीबीसी । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ।
विश्वभरि कोभिड–१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।
मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय खोजी हुँदैछ। ‘सिद्धान्ततः कुकुरले कोभिड(१९ पत्ता लगाउन सक्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भनिन्।
यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ। गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढङ्गमा सङ्क्रमण पत्ता लगाउन सकिनेछ। त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ।
लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ। कुकुरको त्यो क्षमता विश्व स्वास्थ्य सङ्गठनले रोग निदान गर्न तोकेको मापदण्डभन्दा बढी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment