योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’, कांग्रेसको इतिहास अनुसन्धान गर्न उपयोगी

डिसी नेपाल
१७ चैत २०७६ ११:४६

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ। अधिकांश मानिस घरभित्रै बसिरहेका छन्। यो बेला मानिसले विभिन्न माध्यममार्फत समयको सदुपयोग गरिरहेका छन्।

कसैले पुस्तक बढेर फुर्सदको सदुपयो गर्दैछन् भने कसैले आफूलाई मनपर्ने फिल्म हेरेर समय कटाइरहेका होलान्। लकडाउनको अवधि झनै लम्बिएपछि मैले भने विभिन्न पुस्तक अध्ययन गरेर समयको सदुपयो गरिरहेको छु। यसै सन्दर्भमा मैले भर्खरै मात्र एउटा पुस्तक अध्ययन गरिसकेँ।

करिव एक महिना पहिला कनकमणि दीक्षितको पाटनढोकास्थित हलमा नेपाली कांग्रेसका पुराना पुस्ताका राजनीतिज्ञ योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’ पुस्तक सार्वजनिक गरिएको कुरा पूर्वसचिव शरदचन्द्र पौडेलमार्फत जानकारी पाएपछि उक्त पुस्तक किनेर भर्खरै पढेर सकेँ।

नेपालको राजनीतिमा रुची हुने र विशेष गरी नेपाली कांग्रेसको इतिहासप्रति रुची हुनेका लागि यो पुस्तक उपयुक्त हुने ठानेर पुस्तक अध्ययन गर्न थालेको थिएँ।

जगदीश दाहाल

पुस्तक अध्ययन गर्ने क्रममा पुस्तकका तीनवटा पक्ष मलाइ रोचक र बहुउपयोगी लाग्यो। लेखकको बाल्यावस्था र प्रारम्भिक शिक्षा, दिङ्लामा मेरो बुवासँग अध्ययन प्रारम्भ भएको रहेछ।

अर्को पक्ष विपी कोइरालासँगको पत्राचार होे, जुन विपीप्रति आस्था राखने र कांग्रेसको इतिहासका विषयमा अनुसन्धान गर्नेका लागि उपयोगी सामाग्री मान्न सकिन्छ।

यसैगरी लेखक २०४७ सालको अन्तरिम सरकारको गृहमन्त्री हुँदाका बखत र अमेरिकमा राजदूत भएर बस्दा तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र तत्कालीन जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकै समयमा अमेरिका भ्रमणले लेखकमा पर्न गएको अप्ठेरोकाे पुस्तकमा सटिक चित्रण गरिएकाे छ।

यसैगरी  केही विरोध अनि न्यूयोर्कका तत्कालीन राजदूत जयराज आचार्यले खेलेको भूमिकाले जिपी कोइरालमा परेको नकारात्मक असरको परिणाम जस्ता विषय पुस्तकमा समेटिएका हुँदा जान्न पर्ने र जो कोहीले बुझ्नु पर्ने विषय हुन् जस्तो मलाइ लाग्छ। हुन त लेखकले आफ्नो पुस्तकमा ठाउँ ठाउँमा मेरै नाम लिएको भएता पनि त्यो मानिस म हो वा होइन भन्ने थाहा भएन।

तर, बेला बखतमा कनकमणि दीक्षितले यस्ता कार्यक्रमका लागि हल उपलब्ध गराउनु, राजनीतिज्ञले लेखेका आत्मवृत्तान्त वा अन्य पुस्तक अध्ययन गर्न त्यति जाँगर नलगाउने पूर्वसचिव शरदचन्द्र पौडेल जस्ता र अहिलेका पुस्ताका प्रखर नेता डा. शेखर कोइराला जस्ता सबै किसिमका मानिसको जमघटका बीच सार्वजनिक गरिएको यो पुस्तकले अहिलेका पुस्तक पढ्न रुचाउने कांग्रेसका कार्यकर्तालाई उपयोगी हुने देखियो।

तारानाथ रानाभाटसँगको संवाद तथा विभिन्न जिम्मेवारीमा बसेर पनि राजाको नियत र भूमिकाको अनविज्ञता तथा लामो समय कांग्रेसको राजनीति गरेर गिरिजाप्रसाद कोइरालको जाँगर जोश र नियतसँग अनुकुल हुन नसक्नु उहाँका आसेपासेको नियत र षड्यन्त्र नबुझ्नु लगायतले लेखकका लागि अमेरिकाका लागि राजदूत त्यतिसहज भएन छ भनेर पुस्तक पढेर थाहा पाउन सकिन्छ।

उपयोगी हुने ठानेर मैले यो पुस्तक पाँचवटा किनेको थिएँ। अनि विभिन्न अध्यनशील व्यक्ति जस्तै डा. तिलक रावल तथा मिन हमाललगायतलाई पठाएको थिएँ।

ताप्लेजुङमा जन्मिएका लेखक योगप्रसाद उपाध्याय लुइँटेलको नेपाली राजनीतिमा राम्रो स्थान भएपनि सक्रिय राजनीतिमा उहाँको रुची कम देखियो। विशेष गरी कृष्णप्रसाद भट्टराईसँग नजिक हुनुहुन्थ्यो।

उहाँ कोठे राजनीतिमा सिपालु हुनुहुन्थ्यो। बासु रिसाल, ओमकारप्रसाद श्रेष्ठसँगको उठबस धेरै थियो। जनता र कार्यकर्ताबीचको राजनीति कम थियो।

यो पुस्तक पढ्दै जाँदा उहाँले यो पुस्तक उहाँ आफ्नै रुची र तदारुपतामा भन्दा पनि कसैको आग्रहमा पुस्तक प्रकाशन गरेको जस्तो देखिन्छ।

जे भएपनि अन्तरिम सरकारका गृहमन्त्री र अमेरिकाका लागि नेपाली राजदूत भएर काम गर्दाका अनुभव, त्यो बेला हुने राजनीतिक तिकडमलगायतका विषयमा लेखकले पाठकलाई न्याय गरेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *