बिदेशबाट फर्केकालाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै गाउँपालिका
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइनमा राख्नका लागि बिदेशबाट फर्किएका नागरिकको तथ्यांक संकलनका लागि फर्म वितरण गरेको छ। विदेशबाट फर्किएका कतिपय व्यक्तीको घरैमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ भने कतिपयको परिक्षण गर्न बाँकी रहेको छ।
यस्तै, कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणकाक्रममा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ६ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट, थर्मल स्क्यानर, सेनीटाइजर, मास्क, ग्लोव्स लगायतका सुरक्षा तथा सरसफाई सम्वन्धी सामग्री वितरण गरेको छ। सुरक्षा सामगी्र पायसँगै स्वास्थ्यकर्मीहरु उत्साहित भएका छन।
प्राथमिक स्वास्थ्य केन्द्र तथा ७ वटै वडाका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई आईतबार कार्यालयमै पुगेर सरसफाई तथा सुरक्षाका सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन सेट तथा स्वास्थ्यचौकीलाई एक/एक सेट पिपिई प्रदान गरिएको छ। स्वास्थ्यचौकीलाई १५ सय एमएलको तीन÷तीन थान ह्याडसेनीटाइजर र प्राथमिक स्वास्थ्य केन्द्रलाई एक दर्जन सेनीटाइजर उपलव्ध गराइएको छ। स्वास्थ्यकर्मीलाई सानो साइजको सेनीटाइजर पनि प्रदान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।
गाउँपालिका अध्यक्ष निरौला, प्राथमिक स्वास्थ्य केन्द्रका एमबिबिएस डाक्टर ज्योतीप्रकाश शाह लगायतको टोलीले राखाबांदेल, बाकाचोल र माक्पामा पुगेर स्वास्थ्यकर्मीलाई सामान वितरण गरेको हो। यस्तै, प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्य नेतृत्वको टोलीले जलेश्वरी, महेश्वरी र ज्यामिरे पुगेर स्वास्थ्यकर्मीलाई सामग्री वितरण गरेको हो।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीमा, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको रमिते र देम्लीटारमा र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको ट्वीनटारमा हेल्थडेस्क खडा गरेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment