झापाको आइसोलेशनमा रहेका २ जनाको रिपोर्ट आयो

डिसी नेपाल
१९ चैत २०७६ ९:२७

झापा । झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ ।

मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको थियो । दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

कोरोना पुष्टि नभएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन्। मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन्। प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ।

अस्पतालमा इमजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ। दिनहुँ २८ जनाभन्दा बढी ज्वरो आएका र रुघा लागेका विरामी अस्पतालको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले बताए ।

अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को अभाव रहेको छ । शुरुमा ५० वटा पीपीई प्राप्त भएकोमा आधाजसो प्रयोगमा आइसकेको हुँदा फारु गरेर काम चलाइरहेको पौडेलले बताए।

झापाको १५ स्थानीय तहमा कोरोना भाइरस रोकथामका लागि ३९५ श्यया क्षमताका २० वटा क्वारेन्टाइन चालू अवस्थामा छन् भने नेपाली सेनाले बनाइरहेको १०० श्ययाको एउटा क्वारेन्टाइन अन्तिम चरणमा पुगिसकेको छ।

झापाका क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने दुई जना कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसकेपछि होम क्वारेन्टाइनमा गइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *