तीन महिने शिशु छाडेर न्यूयोर्कमा कोरोनापीडितको उपचारमा लाग्दा

कहिले गर्व लाग्छ कहिले डर

यतिबेला मलाई गर्व र डर दुबै लागिरहेको छ । मलाइ मिश्रित अनुभूति हुने गर्छ । कहिलेकाहीं म जे गरिरहेको छु त्यसमा मलाई अत्यन्त गर्व लाग्छ । तर, जव म मेरो तीन महिने बच्चाका बारेमा सोच्छु अनि मलाई डर लाग्छ । उसलाई घरमा छाडेर ड्युटीमा जानुपर्ने वाध्यता सम्झँदा म डराएको हुन्छु ।

पेशाले म नर्स हुँ र यतिबेला म कोरोना पीडित नागरिकहरुले उपचार गर्ने अस्पतालमा कार्यरत छु । वास्तवमा म अमेरिकाको लागि कोरोनाको इपिसेन्टर मानिएको न्यूयोर्क शहरको पनि कोरोना विशेष उपचार भइरहेको अस्पताल एल्मह्रस्टमा कार्यरत छु ।

यो अस्पतालका अन्य रोगका विरामीहरुलाई अरु अस्पतालमा सार्न थालिएको छ र हाम्रो अस्पताललाई चाहिँ कोभिड १९ को उपचार गर्ने मुख्य अस्पतालको रुपमा रुपान्तरण गर्न खोजेको कुरा चलेको छ ।

परिवारमा मेरो सासुले मलाई नर्सको काम छोडिदेऊ भन्नुहुन्छ । तीन महिनाको सानो बच्चा छ,बरु सुख दुख गरेर खाउां भन्नुहुन्छ । यतिबेला म मेरो तीन महिने बच्चासँग पनि सोसल डिस्ट्यान्स कायम गरिरहेकी छु किनकि म कोरोनाको उपचारमा संलग्न छु । कहिलेकाहीं लाग्छ मेरी सासुले भनेको ठीक हो ।

फेरि मेरो पति भने मेरो कामको प्रसंसा गर्नुहुन्छ र नर्स, सेनाजस्तो पेसाम भएकाले अप्ठेरो परेको बेला म काम गर्दिन भन्नु हुन्न भन्ने धारणा राख्दै मलाई विरामीको सेवामा लाग्न उत्प्रेरित गर्नु हुन्छ । म जहां काम गर्छु त्यो कोरोनाको अमेरिकाको इपिसेन्टर नै हो ।

यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि मेन्सन गरेको अस्पताल हो यो । शुरुशुरुमा त कोरोना विरामीको चापले आतेसजस्तो स्थिति पनि आएको थियो तर पछि वाहिरबाट नर्सहरु लगायतको सहयोग पनि आयो। अहिले त एन ९५ माक्स र पीपीइजस्ता सामग्रीहरु हामीलाई दिइएको छ । अहिले हामी ठीक छाैं। भलै म सात दिन आफैं पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आएको थियो ।

न्यूयोर्कमा यो रोग फैलिनुको कारण मेरो व्यक्तिगत विचारमा सोसल डिस्ट्यान्स कायम गर्न नसक्नु नै हो । अधिकांश व्यक्तिहरुलाई सार्वजानिक यातायात ट्रेन र बसको भर छ। काममा जानुपर्नेहरु यिनै यातायातका साधन चढ्छन् त्यसैले पनि कोरोना फैलन मद्दत गरेकोजस्तो लाग्छ मलाइ।

म प्रत्यक्षरुपमा नै कोरोनाका विरामीको उपचारमा संलग्न छु । सबै विरामीमा हमाी मर्छौ कि बाँच्छौं भन्ने प्रश्न रहेको पाउँछु । उनीहरुले हामीप्रति आशा गरेको झैं लाग्छ । उनीहरु हामीलाई हेर्छन् पनि । हामी माक्स लगाएर कुरा गर्छौं, सकेसम्म कम समय विताउनु पर्ने हुन्छ हामीले यस्ता विरामीसँग ।

उनीहरु कतिपय त कापिरहेका हुन्छन् डरले होला सायद । मृत्युको डर कसलाई हुँदैन र ? समाचारहरुमा यति मरे, उति मरे कोरोनाले भन्ने आइरहेकै पनि छन् जसले विरामीको डर पनि बढाइरहेको छ । तर बुझ्नु पर्ने कुरा के हो भने कोरोना लागेर बांचेका पनि कम छैनन् है ।

म जनरल मेडिसिनकी नर्स हुँ । मैंले काम गर्ने अस्पतालको फ्लोरमा कोरोनाले ग्रस्त भई सिकिस्त भएका विरामीभन्दा पनि कोरोना लागेका तर कम समस्या भएका विरामीहरु राखिएका हुन्छन् ।

मेरो फ्लोरमा अहिलेसम्म कुनै नेपाली व्यक्ति विरामी भएर राखिएको छैन तर अरु फ्लोरमा नेपाली विरामीहरु पनि राखिएका छन् भन्ने सुनेको छु ।

विरामीको बारेमा थाहा पाएर उपचार पद्धतिलाई सजिलो बनाउन हामी कसरी कोरोनाको संक्रमण भयो ? भनेर विरामीलाई सोध्छौं र उनीहरुसंग कुरा गर्दा सोसल डिस्टेन्स पनि मेन्टेन गर्छौं ।

उनीहरुसँग कुरा हुँदा पाएको जानकारी अनुसार, विरामीमध्ये धेरैजसोलाई कोरोना कसरी लाग्यो भन्ने थाहै हुंदैन रहेछ । म जवान छु, मसंग इम्युनिटी पावर बलियो छ, म जता जाँदा पनि हुन्छ भन्ने ठान्नेहरु पनि निकै पाइयो । यसैकारण उनीहरु सोसल डिस्टान्स कायम नगरी भोजहरु आयोजना गर्ने र भोजहरुमा जाने गरेको पाइयो ।

कोरोना लागिहाले पनि आत्तिनु भने पर्दैन । यो लाग्ने वित्तिकै मान्छे मर्ने होइन । हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति हुन्छ । जिउने इच्छा र भाइरससँग लड्छु भन्ने धारणा, राम्रो खाना पिना, सरसफाइसहित सकारात्मक सोच राख्ने, अस्पताल नै जानुपर्ने भए पनि डाक्टर र नर्स हुन्छन् उनीहरुले सघाउँछन्, उपचार गर्छन् भन्ने सोच राख्नु पर्छ ।

मेरा विरामीहरु यस्तो सोच राख्नेहरु चांडै निको भएर डिस्चार्ज भएका छन् । आत्तिन थाल्यो भने मनोभावना कमजोर हुन्छ ।

न्यूयोर्कमा यो रोग फैलिनुको कारण मेरो व्यक्तिगत विचारमा सोसल डिस्ट्यान्स कायम गर्न नसक्नु नै हो । अधिकांश व्यक्तिहरुलाई सार्वजानिक यातायात ट्रेन र बसको भर छ । काममा जानुपर्नेहरु यिनै यातायातका साधन चढ्छन् त्यसैले पनि कोरोना फैलन मद्दत गरेकोजस्तो लाग्छ मलाइ ।

यहाँको सरकार र मेयरले सोसल डिस्ट्यान्स कायम गर्नु, माक्स, पन्जा लागाएरमात्र हिड्नु भने पनि आम मानिसहरुले त्यसलाई टेरेकोजस्तो देखिदैंन त्यसैले पनि यो रोग निकै फैलिएको हो न्यूयोर्कमा ।

तातोपानी खाने, खानेकुरामा ध्यान दिने, कागती पानी खाने र इम्युन सिष्टम बढाउने गरी खाना खाने । हामीले यो रोगसंग फाइट गर्नुको विकल्प छैन । ज्वरो आयो भने त्यो घटाउने औषधी खाने हो । नयाँ  भाइरस भएकाले यसको औषधी केही पनि छैन।

मेरो व्यक्तिगत विचारमा दूधमा बेसार मिसाएर खाँदा रूघा खोकीलाई निको बनाउन मद्धत गर्नसक्छ । टिमुर पानी,अदुवा,लसुन मिलाएर खाने त हाम्रो पुरानो चलन नै हो । यो कुरामा म व्यक्तिगतरुपमा विश्वास गर्छु पनि । केही फाइदा गर्छ भन्ने विश्वास लाग्छ ।

उपचारमा खटिइरहेको नर्सको हैसियतले मेरो के सल्लाह छ भने साधारण लक्षण देखिए आत्तिएर अस्पताल नदौडिआंै । घरमै बसेर नर्मल फ्लूमा जस्तै हात धुने, सरसफाइमा ध्यान दिने, तातो पानी खाने, ज्वरो आए सो घटाउने औषधि खाने, प्रशस्त पानी पिउने र सुतेर आराम गर्ने काम गर्नु जरुरी छ ।

यदि सास फेर्नै गाह्रो भयो भने, ज्वरो घट्दै घटेन भने, मुखबाट रगत नै बग्नेस्थिति आयो भने वा रिंगटा लागेर ढल्ने अवस्था आयो भनेचाहिं नअल्मलिई अस्पताल जानु राम्रो हुन्छ । सामान्य अवस्थामा अस्पताल गइरहनु पर्दैन । यो रोगको कुनै उपचार छैन, सोसल डिस्ट्यान्स कायम गरेर रोग नसार्ने र बच्ने नै एकमात्र उपाय हो ।

(डिसी नेपालका सन्देश खड्कासँग प्रत्यक्ष कुराकानीमा आधारित)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position