लकडाउनको एघार दिनपछि आंशिकरुपमा चिया बगान खुले

डिसी नेपाल
२२ चैत २०७६ २१:५९

झापा । लकडाउन’ भएको ११ दिनपछि शनिबार झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक संघले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ । झापामा ३० वटा चिया फ्याक्ट्री र सानाठूला गरी ३ सय भन्दा बढी चिया बगान रहेका छन् ।

कोडिभ–१९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएका बगानहरु व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर मजदूरले काम गर्ने गरी आंशिकरुपमा खोलिएको हो । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउनेलगायतका काम शुरु गरिएको बताए ।

‘फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दूरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ’, उनले भने, ‘चिया बगानको काम मास्क, ग्लोब लगाएर गर्न सकिन्छ । त्यही भएर बगान नबिग्रियोस् भनेर अहिले आंशिकरुपमा काम शुरु गरेका छौँ ।’

आगामी दिनको अवस्था हेरेर सुरक्षित तवरले मजदूरलाई काम लगाउने सकिने वातावरण भए पूर्णरुपमा चिया बगान र कारखाना खोलिने उनले बताए। नेपाल चिया विकास निगम भाडामा सञ्चालन गरिरहेको साङ्घाई ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्री पूर्णरुपमा खोलिएको जनाएको छ ।

साङ्घाइ ग्रुपका सञ्चालक सुवास साङ्घाइले चिया बगानमा मजदूरलाई हात धुने साबुन पानी, मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताए। उनले कोभिड १९ का कारण चिया बगानमा ठूलो क्षति भएको बताउँदै भने, ‘पत्ती टिप्ने बेलामा भएको थियो, त्यही बेला कोभिडको सङ्क्रमणका कारण सरकारले लकडाउनको घोषणा ग¥यो । मजदूरलाई काममा लगाएर पत्ती टिप्ने अवस्था रहेन, सबै छिप्पिएर जाँदा ठूलो क्षति भयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *