कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी

डिसी नेपाल
२३ चैत २०७६ ७:२५

बीबीसी। के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ? यो प्रश्नको जवाफ विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका सल्लाहकारहरूको एउटा समूहले खोज्ने भएको छ।

खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।

यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने भनेको थियो।

उक्त अनुसन्धान समूहका अध्यक्ष प्राध्यापक डेभिड हेमनले बीबीसीलाई नयाँ अध्ययनले मास्कबारे विगतमा दिइएका सुझावमा परिवर्तन ल्याउन सक्ने बताए।

डब्लूएचओका पूर्वनिर्देशक रहेका उनी भन्छन्, “डब्लूएचओले नयाँ प्रमाणहरू हेरेर मास्क प्रयोगसम्बन्धी आफ्ना सुझावहरू परिमार्जन गर्नुपर्छ कि पर्दैन भन्नेबारे छलफल आरम्भ गरेको छ।”

डब्लूएचओले सङ्क्रमणबाट जोगिन खोकी रहेका वा हाच्छिउँ गरिरहेका व्यक्तिहरूबाट कम्तीमा एक मिटर परै बस्न सुझाव दिँदै आएको छ।

उसले बिरामी परेका र लक्षणहरू देखिएका व्यक्तिलाई मास्क लगाउन सुझाव दिएको छ।

तर उसले सङ्क्रमण भएको शङ्का लागेका व्यक्तिहरूको स्याहारसुसार गरिरहेका वा आफैले खोकिरहेको वा हाच्छिउँ गरिरहेको अवस्थामा मात्रै स्वस्थ मानिसले मास्क प्रयोग गर्नुपर्ने भन्दै आएको छ।

उसले निरन्तर हात धुने र प्रयोग गरिसकेपछि राम्ररी व्यवस्थापन गरेर मात्रै मास्क लगाउनु परिणाममूलक हुने उल्लेख गरेको छ।

ब्रिटेन र अमेरिकासहित कतिपय देशले २ मिटर सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्।

उनीहरूले थुकको छिटाबाट भाइरसहरू फैलनसक्ने प्रमाणका आधारमा ती सुझाव दिएका हुन्। अधिकांश त्यस्ता छिटा हावामा मिसिने वा जसले निकालेको हो त्यही मानिस नजिकै खस्ने गर्छ।

अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, एमआइटीका अनुसन्धानकार्ताहरूले हाइ स्पीड क्यामेरा र अरू सेन्सरहरूको प्रयोग गरी खोकेपछि वा हाच्छिउँ गरेपछि ठ्याक्कै के हुन्छ भन्ने अध्ययन गरेको थियो।

त्यसक्रममा स्वास बाहिर निस्कँदा एकदमै द्रुत गतिमा फैलने ग्यासको समूहको सिर्जना हुन्छ जसमा फरकफरक आकारका थुकका छिटाहरू हुन्छन्, र तीमध्येका सबैभन्दा सानो आकारका छिटा निक्कै परसम्म पनि जान सक्ने उनीहरूले पत्ता लगाएका छन्।

प्रयोगाशालामा गरिएको अध्ययनले खोक्दा निस्किएको थुक ६ मिटर परसम्म र हाच्छिउँको बेलामा अझ द्रुत गतिमा छिटा ८ मिटरसम्म पुग्ने देखाएको छ।

उक्त अध्ययनको नेतृत्व गरेकी एमआइटीकी प्राध्यापक लीडीया बुरोइबाले अहिले भनिएको सुरक्षित दूरीको अवधारणाप्रति आफूलाई चिन्ता लागेको बताएकी छन्।

उनले सास फेर्दा वा खोक्दा वा हाच्छिउँ गर्दा परसम्म जान सक्ने गति भएको ग्यासको गुजुल्टो बन्ने र त्यसभित्र फरक फरक आकारका छिटाहरू जम्मा हुने अनि त्यो कोठाभरी फैलन सक्ने बताइन्।

“त्यही भएर ती छिटा कुनै तरिकाले भुइँमा खस्छन् भन्ने आधारमा एक वा दुई मिटर पर बस्दा सुरक्षित हुने भन्ने गलत अवधारणा हामीले प्रत्यक्ष अध्ययन वा मापन गरेको विवरणसँग मिल्दोजुल्दो छैन।”

प्राध्यापक बुरोइबाले हावा राम्रोसँग ‌ओहोरदोहोर गर्न सक्ने व्यवस्था नभएको र घरभित्रै बस्नुपर्ने परिस्थितिमा मास्क लगाउनाले जोखिम कम हुने बताइन्।

उदाहरणका लागि, कोही सङ्क्रमिततिर फर्किएर बस्नुभएको छ भने मास्कले उनीहरूको श्वासको प्रवाह बदल्न सक्छ र भाइरसलाई तपाईँको मुखतिर आउनबाट रोक्न सक्छ।

प्राध्यापक बुरोइबाले छान्ने क्षमता नभएकाले कमजोर खालका मास्कले हावामा रहेका साना कणहरूलाई सास फेर्ने क्रममा भित्र जानबाट रोक्न नसक्ने भने उल्लेख गरिन्।

तर मास्कले तीव्र गतिमा आएको छिटालाई अन्य दिशातर्फ मोडिदिन सक्ने जनाइन्।

प्राध्यापक हेमनका अनुसार एमआइटी र अन्य संस्थाहरूको अध्ययनले खोकी र हाच्छिउँबाट निस्कने स-साना कणहरू पहिले भन्दा परसम्म उछिटिने सङ्केत गरेकाले त्यसको थप परीक्षण गरिनेछ।

उनले प्रमाणहरूले पुष्टि गरे उपयुक्त किसिमले मास्क लगाउनु सामाजिक दूरी कायम गर्नु जत्तिकै वा त्यो भन्दा बढी प्रभावकारी हुने बताए।

तर मास्कलाई राम्रोसँग लगाउनुपर्ने भन्दै उनले नाक ढाकिएको सुनिश्चित हुनुपर्नेमा जोड दिए। आफ्नो हात सङ्क्रमित नहोस भन्नका लागि मास्कलाई राम्रोसँग खोल्नुपर्ने प्राध्यापक हेमनको सुझाव छ।

उक्त रणनीतिक र प्रावधिक समूहले अबको केही दिनमा छलफल गरी यसबारे आफ्नो निष्कर्ष दिनेछ।
देशहरूले के गर्दैछन्?

एशियाका धेरै देशहरूमा पहिला देखी नै मास्क लगाउने अभ्यास लोकप्रिय छ।

अहिले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले पनि मास्कको सार्वजनिक प्रयोगबारे विचार गरिरहेको छ।

अष्ट्रियामा प्रहरीले मास्क प्रयोग गरिरहेका छन् र उनीहरूसँग व्यवहार गर्ने जोकोहीलाई मास्क लगाउनुपर्ने भनिएको छ। सुपरमार्केटहरूमा ग्राहकहरूलाई त्यस्तै सूचना दिइएको छ।

युरोपमा विगतमा मास्क लगाएको देखिनु दुर्लभ थियो तर डब्लूएच‌ओको सुझावमा परिमार्जन आए त्यो अवस्था तुरुन्तै बदल्न सक्ने ठानिन्छ।

यसैबीच अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकीहरूलाई कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि घरभन्दा बाहिर निस्कँदा मास्क प्रयोग गर्न प्रोत्साहन गर्ने निर्देशिकामाथि विचार गरिरहेको विवरण आएका छन्।

हाल अमेरिकामा ९० प्रतिशतभन्दा बढीलाई घरभित्रै बस्न आदेश दिइएको छ र सडकमा थोरै मानिसहरू मात्रै छन्।

तर न्यूयोर्क र लस एन्जलसमा बाहिर निस्कनुपर्दा मास्क लगाएर निस्कन अधिकारीहरूले भनेका छन्।

न्यूयोर्कका मेयर बील डे ब्लाजीयोले सर्जिकल मास्कको अभाव रहेको र त्यो स्वास्थ्यकर्मीहरूले लगाउनुपर्ने भएकाले रुमाल वा कुनै कपडाले अनुहार ढाक्न सुझाव दिएका छन्।

तर अनुहारमा छोएर पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोगलाई बाध्यकारी बनाउने आदेशले मानिसहरूलाई सुरक्षित रहेको मिथ्याआभास दिलाउन पनि सक्ने ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी एक सदस्यले बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *