लकडाउन : गाउँ घरमा छिमेकीसँग सम्बन्ध बिग्रिने डर !

डिसी नेपाल
२५ चैत २०७६ ९:३३

काठमाडौं। कोरोना संक्रमणका विरामी नेपालमा बढ्न थालेपछि सरकारले सोमबार दोस्रो पटक लकडाउनको अवधि लम्ब्याएको छ। योसँगै अब वैशाख ३ गतेसम्म घरैभित्र बस्नुपर्ने भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारणमा त्रास बढेको छ। यसअघि नेपालमा विदेशबाट आएका नेपाली नागरिकमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

तर नेपालमै स्थानीय रुपमा एक जनामा कोरोना भाइरस पुष्टि भएपछि जनमानसमा त्रास उत्पन्न भएको हो।
कोरोना नियन्त्रण र रोकथाम नियन्त्रण गर्न सरकारले जारी लकडाउनलाई थप कडा बनाउने निर्णय गरेसँगै मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ।

सरकारले लकडाउनको अवधिभर घरभित्रै बस्ने आदेश दिएको छ। तर सहरी क्षेत्रमा मानिसहरु लकडाउनको समयमा आफ्नै घर र कोठा भित्र सीमित भएपनि गाउँ घरमा भने यस्तो देखिँदैन।

गाउँ घरमा ओल्लो÷पल्लो छिमेकमा आवत जावत नगर्दा सम्भव नहुने कतिपयको भनाइ छ। कतिपयले भने बच्चालाई बाहिर नछोड्दा पनि छिमेकीमा मनमुटाव बढेको बताएका छन्।

सरकारले धेरै भिडभाड नभएको ठाउँमा नजान आग्रह गरेको छ। गाउँ घरमा छिमेकीसँग घुलमिल गरे मरिन्छ भन्ने चिन्ता, घुलमिल नगरे भोलि त्यही छिमेकीले चाहिन्छ भन्दै झापाकी बिमला भण्डारीले गुनासो गरेकी छन्।

‘कस्तो दिन आयो सोच्दा नै अचम्म लाग्छ। सहरमा जस्तो गाउँ घरमा हुन्न। लकडाउन गरेपनि ओल्लो/पल्लो घर आवत जावत त हुन्छ। छिमेकीसँग घुलमिल गरे मरिन्छ भन्ने चिन्ता, घुलमिल नगरौं भोलि बाँचिएला त्यही छिमेकीले भोलि अफ्ट्यारो परेको समयमा साथ नदेलान भन्ने चिन्ता,’ उनले भनिन्।

बालबालिकालाई सुरक्षित राख्न खोज्दा एक त बालबालिका नबुझ्ने अर्को छिमेकीको घरमै जान रोकेको जसरी मनमुटाव बढ्ने गरेको अधिकांशको भनाइ छ।

‘सरकारले यत्रो लकडाउन गरेको छ, घरबाट बाहिर ननिस्कन मिडियाले चौबीसै घण्टा फुक्छ तर हामीलाई आफ्नो घर छिमेकमा नराम्रो असर पर्ने भयो,’ नुवाकोटका राजु रिमालले भने, ‘अस्ती बाबुलाई घरमा बस कतै नजाउ भनेको, पल्लो घरको आन्टीलाई गएर बाबाले त तपाईँको घरमा नजानु भन्नू भएको छ भनिदिएछ। यसले कस्तो असर गर्यो उहाँको मनमा एक परिवार भएर बसेका हाम्रो सम्बन्ध चिसिएको अनुभव भएको छ।’

सहरी भेगमा एउटै घरमा धेरै परिवार अटाएपनि आवत जावत कम हुन्छ। तर, गाउँमा छिमेकी आवतजावत घुलमिल धेरै नै हुन्छ। कोरोनाको प्रभावले कयौं छिमेकी टाढिएको पाइन्छ। स्याङ्जाकी सोना सुनार पनि यस्तै गुनासो गर्छिन्।

‘यस्तो पनि हुने रहेछ! म समाचार धेरै हेर्छु। यो गम्भीर अवस्था हो जस्तो लाग्छ। तर मसँग अध्ययन गर्ने साथी मेरै घरको बाटो हिँडेर बाहिर निस्कन्छन्। मैले धेरै पटक यो दशै तिहार होइन भनिसकेँ। अब उसको सोचाइ मैले मपाइत्व देखाएको ठानेछ। मेरो एकदम मिल्ने साथीसँग नै सम्बन्ध नराम्रो भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *