नवलपरासीमा तीन कैदीबन्दी रिहा

डिसी नेपाल
२६ चैत २०७६ १६:५३

नवलपरासी । कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि पश्चिम नवलपरासीमा कैदीबन्दी रिहा गर्न थालिएको छ । जिल्ला अदालतको आदेशानुसार कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन जना कैदीबन्दीलाई रिहाइ गरिएको जिल्ला कारागार परासीले जनाएको छ ।

कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिएपछि सर्वोच्च अदालतको निर्णयमा कैदीबन्दीको निवेदन र जिल्ला अदालतको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर जगत बस्नेतले जानकारी दिए । उनका अनुसार रिहा हुनेमा पश्चिम नवलपरासीको सुस्ता–२ का प्रमोद अमात्य (प्रवीन), रुपन्देही देवदह–७ का ताराप्रसाद पाण्डे र मालती भर रहेका छन् । तीनै जना लागुऔषध मुद्दामा सजाय भोगिरहेका थिए ।

रिहाइका लागि आठ जना कैदीबन्दीले निवेदन दिएको बताउँदै जेलर बस्नेतले भने, “मुलुकी फौजदारी संहीता कार्यविधि–२०७४ को दफा १५५ अनुसार एक वर्षसम्म कैद बाँकी रहेका कैदीबन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको इजलासबाट छाड्ने व्यवस्था मिलाउन सर्वोच्चले निर्णय गरेपछि सोहीअनुसार उनीहरुलाई छाडिएको हो ।”

अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको उनले बताए । मालती भरले एकवर्ष तथा अमात्य र पाण्डेले छ÷छ महिनाको कैद सजाय भोगिरहेका थिए । महिला र पुरुष गरी १७५ क्षमताको नवलपरासी कारागारमा अहिले ४०४ कैदीबन्दी रहेका छन् । ६४ महिला र आश्रित बालक एक जना तथा ३३९ पुरुष कैदीबन्दी छन् । एकैठाउँमा धेरै मानिस हुँदा कोरोनाको जोखिम बढ्नसक्ने भएकोले कारागारमा पनि उच्च सतर्कता अपनाइएको कारागार प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *