सुदूरपश्चिम प्रदेश सरकारले श्रमिक, असहाय र विपन्नलाई राहत दिने

डिसी नेपाल
२७ चैत २०७६ १९:१९

धनगढी । सुदूरपश्चि प्रदेश सरकारले श्रमिक, असहाय र विपन्न परिवारका लागि प्रतिपरिवार ३ हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रमिक, असहाय र विपन्न प्रतिपरिवारलाई ३ हजारका दरले राहत दिन स्थानीय तहमा १६ करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

बैठकले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक व्यवस्थापन र विविध खर्चमार्फत पाँच÷पाँच लाखका दरले, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई १५÷१५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी प्रदेशका सबै जिल्ला अस्पताललाई चाहिने २० थान भेन्टिलेटर खरिद गर्ने, प्रदेश सञ्चित कोषमा विसं २०७६ फागुन मसान्तसम्म दाखिला गर्नुपर्ने शुल्क, दस्तुर, करको अवधि विसं २०७७ वैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । यस्तै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जीवन बीमास्वरुप सङ्घीय सरकारले घोषणा गरेको २५ लाखमा थप सुविधा राहत १५ लाख थप्ने, सञ्चारकर्मीलाई १५ लाखको जीवन बीमा गर्ने निर्णय पनि गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले कोभिड–१९को जोखिम नियन्त्रण तथा उपचार व्यवस्थापन कोष स्थापना सञ्चालन निर्देशिका २०७६ र सुदूरपश्चिम कोरोना भाइरस लकडाउन अवधिसम्बन्धी राहत मापदण्ड २०७६ लाई पनि स्वीकृत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *