प्रदेश नम्बर १ मा २८२ जनाको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
३० चैत २०७६ ८:३९

बिराटनगर। प्रदेश नं १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

थ्रोट स्वाबअन्तर्गत सङ्कलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएकोे छ।

कोरोना भइरस भए/नभएको छिटो पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो।

प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ। मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ।

प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ। होम क्वारेन्टाइनअन्तर्गत तीन हजार ४१७ छन्। प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन्। प्रदेशमा परीक्षण किट्स आएसँगै परीक्षणको दायरा व्यापक हुने मुख्यमन्त्री शेरधन राईले जनाउँदै आएका छन्।

नपाको कोषमा ७९ लाख जम्मा

भद्रपुर : झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ। नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ। यही चैत २७ गतेसम्म कोषबाट रु ४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ।

कोषमा चालु आर्थिक वर्ष २०७६/७७ को वजेटबाट रु २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको रु ३५ लाख, १ न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु १० लाख आएको थियो।

विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट रु १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिए।

उलङ्घन गर्ने कारबाहीमा

झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ। जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो।

लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीको कडाइ

दमक : दिनभरि लकडाउन प्रभावकारी भएपनि बिहान र बेलुका चोक र बजारमा मानिसहरुको चहलपहल बढेपछि कडाइका लागि प्रहरी सक्रियता बढेको छ।

बिनाकाम बाहिर निस्कनेलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिएर सामाजिक दूरी कायम गरी चौकमै दुई घण्टा उभिन लगाउन थालेको छ। ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले लकडाउनको पालना गरी घरमै बसिदिन सबैलाई आग्रह समेत गरे।

जात्री मेला यसवर्ष नलाग्ने

हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ।

धिमाल जातिय विकास केन्द्रको आयोजनामा हरेक वर्ष जात्री पर्वको अवसरमा लाग्दैआएको जात्री मेला यसवर्ष भने कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण प्रभावित बन्न पुगेको केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *