विमानस्थलको सुर्ती थुपार्ने ठाउँमा आगलागी, घटना लुकाउने प्रयास

डिसी नेपाल
३० चैत २०७६ १०:२९

काठमाडौं। कोरोनाको महामारीले सबैको ध्यान खिचिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको प्रहरीले प्रयोग गर्ने एउटा कोठमा अकस्मात आगो लागेको विषय भने सार्वजानिक नगरी गुपचुप राखेको पाइएको छ।

विमानास्थलमा कार्यरत प्रहरीकै हेलचेक्र्याइमा आगो लागेकोले थप आशंका पनि जन्माएको छ। किनकि सो कोठामा थुपारेर राखिएका सुर्ती र गुट्खा जलेर नष्ट भएको प्रतिवेदन तयार गरिएको छ।

समाचारअनुसार, मिति २०७६ साल चैत्र १५ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अगमन तर्फको कोठा नं. १५४ मा नेपाल प्रहरीले बैदेशिक रोजगारमा जाने यात्रुहरुले बिदेशमा लग्न लागेको सुर्ती, पराग, गुटखा तथा सुर्तीजन्य बस्तुहरु जफत गरी राखेको रहेछ।

नियमत यसरी जफत गरिसकेपछि तत्काल भन्सार विभागलाई हस्तान्तरण गरी पारदर्शी काम गर्नु पर्नेमा प्रहरीले जफत गरेका सामान यसरी थुपारेर राख्नु र आगो लागेको अवस्थाको प्रतिवेदन तयार हुनुले प्रहरीको नियतमाथि शंका गर्ने बाटो दिएको छ ।

समाचारअनुसार, सो कोठामा ११ः४० बजे विद्युत सर्ट भई आगोलागी भएको थियो। सो आगलागी नियन्त्रणमा लिन झण्डै ३५ मिनेटपछि मात्र आगो निभाउने यन्त्र पुगेको थियो। नेपाल प्रहरीकै लापरवाहीका कारण सो आगो लागि भएको बिमानस्थल स्रोतको दावी छ।

तर प्रहरीले भने विमानस्थलमा आगलागी भएको घटना आफरुलाई जानकारी नभएको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी दानबहादुर मल्लले विमानस्थलमा आगलागी भएको घटना आफूहरुलाई जानकारी नभएको बताए।

‘विमानस्थलमा आगलागी भएको घटना हामीलाई जानकारी छैन,’ एसपी मल्लले डिसी नेपालसँग भने, ‘आगलागी सानो भएका कारण प्रहरीलाई खबर नगरेको हुन सक्छ।’

सुर्तीजन्य पदार्थहरु विदेश लैजानेहरुसँग सेटिङ चल्ने गरेको र विशेषत बैदेशिक रोजगारमा जाने कामदारहरुमार्फत अरवियन मुलुकहरुमा जाने सुर्तीजन्य पदार्थहरु सेटिङमा नमिलेको अवस्थामा मात्र पक्राउ गर्ने गरेको आरोप प्रहरी र विमानास्थलमा कार्यरत अन्य सुरक्षा निकायमाथि लाग्ने गरेको छ।

यसरी पक्राउ गरेका सामानहरु प्रत्येक दिन नै भन्सारलाई बुझाउनु पर्नेमा व्यापारीसंग समन्वय गरी बिक्री गर्ने गरेको आरोप प्रहरीमाथि लाग्ने गरेको छ। विमानास्थलको संवेदनशीलता ख्याल गरी यो घटनाको छानविन हुनुपर्नेमा गुचपुप राख्ने प्रयास गरेको पाइएको छ।

केही समय अघि पनि स्टराइलमा रहेको गोपाल श्रेष्ठको कफी शपमा पसलकै कर्मचारीहरुको लापरवाहीको कारणले आगलागी भएको थियो। सो बाट बिमानस्थलले करोडौं क्षति व्यर्होनु परेको र सो आगलागीका कारण बिमानस्थल नै बन्द समेत गर्नु परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *