आँधीका कारण अमेरिकामा कम्तीमा ११ को मृत्यु

डिसी नेपाल
१ वैशाख २०७७ २१:४०

वासिङटन । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो । अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो ।

मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।” उनले आँधीबाट पिडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए ।

“आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् ।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन्। पूर्वानुमान विभागले यस्तो आँधी आउनसक्ने अनुमान पहिले नै गरिएको बताएको छ । विभागले यस आधीलाई अपेक्षित नै भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *