सिनेटर स्यान्डर्सद्वारा बाइडेनलाई समर्थन गरेको घोषणा

डिसी नेपाल
२ वैशाख २०७७ १७:३०

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सिनेटर बर्नी स्यान्डर्सले सोमबार जो बाइडेनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

उक्त समर्थन पश्चात् आगामी नोभेम्बरको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन उम्मेदवार हुने निश्चित भएको छ ।

स्यान्डर्सले आफ्ना समर्थकहरुलाई पनि आगामी चुनावमा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुनसक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परास्त गर्न सम्पूर्ण रुपले तयार हुन पनि आग्रह गरे ।

बाइडेनसँग भर्चुअल कन्फरेन्स मार्फत संवाद गर्दै सिनेटर स्यान्डर्सले भने, “म सबै अमेरिकी जनता, सबै डेमोक्र्याट्स, सबै स्वतन्त्र नागरिक, रिपब्लीकन पार्टीका सबै समर्थकहरुलाई म आगामी चुनावमा बाइडेनलाई समर्थन जनाउन आग्रह गर्दछु ।”

राष्ट्रपतिको चुनावी दौडमा रहेका स्यान्डर्सले उम्मेदवारी परित्याग गरेको घोषणा गरेको एक साता नबित्दै बाइडेनलाई समर्थन जनाएका छन् । सबैलाई निःशुल्क स्वास्थ्य सेवा समेतका प्रगतिशील मुद्दाहरुलाई अगाडि सारेर चुनावी दौडमा रहेका स्यान्डर्स मुख्यतः पूर्व उपराष्ट्रपति जो बाइडेनसँग धेरै राज्यमा पराजित भएका थिए ।

स्यान्डर्स समेतका प्रगतिशील धारको पर्याप्त सहयोग नपाएकै कारण सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन पराजित भएका थिए । गत चुनावमा डेमोक्र्याटिक पार्टीभित्र उत्पन्न विभाजनका कारण क्लिन्टन पराजित भएको निष्कर्षमा पुगेका स्यान्डर्सले यसपटक त्यही परिस्थिति दोहोरिन नदिन बाइडेनप्रति चाँडो समर्थन जनाएको अनुमान गरिएको छ ।

हुनतः बाइडेन र स्यान्डर्सबीच प्राइमरी चुनावभर कतिपय नीतिलाई लिएर एकअर्कामाथि आरोप प्रत्यारोप चलेका थिए, खासगरी सरकारी प्रणालीको बदलामा निजी स्वास्थ्य बीमा नीति अवलम्बन गर्ने विषयमा मतान्तर थिए । बाइडेनले बीमा नीतिलाई स्यान्डर्सले भनेझैं पूर्ण सरकारी नगरी निजी क्षेत्रलाई पनि समेट्नु पर्नेमा जोड दिएका थिए।

भिडियो कन्फरेन्सका क्रममा स्यान्डर्सले बाइडेनलाई भने, “हामीबीचका मतान्तरका बारेमा कुनै गोप्य कुरा छैनन् । ती विषय खुला छन् ।” तर हाम्रो एकमात्र ध्येय राष्ट्रपति ट्रम्पलाई आगामी चुनावमा परास्त गर्नु नै हो, स्यान्डर्सले भने । “हामीले ट्रम्पलाई एक कार्यकालको राष्ट्रपतिमै सीमित गर्नु पर्दछ । त्यसका लागि आफू सक्दो सहयोग गर्न तयार छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *