कोरोनाभाइरसः अझै २ वर्षसम्म प्रतिबन्ध नहटाउन वैज्ञानिकहरुको चेतावनी

डिसी नेपाल
३ वैशाख २०७७ १६:१८

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपसँगै कैयौं देशहरुले नचाहेरै पनि देशलाई लकडाउन गरेका छन् । कैयौं देशहरुले लकडाउन र सामाजिक दूरीको सहयोगले केही महिनामै सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् । तर, वैज्ञानिकहरुले भने यो संक्रमणको रोकथामको लागि २०२२ सम्म सामाजिक दूरी लगायतका प्रतिबन्ध कायमै राख्नुपर्ने हुन सक्ने बताएका छन् । नयाँ अध्ययनमा शोधकर्ताहरुले बताएअनुसार आगामी समयमा कोरोनाभाइरसले फेरि विनाश मच्चाउन सक्छ ।

जर्नल साइन्समा प्रकाशित यो शोधका आधारमा सिएनएनले प्रकाशित गरेको समाचार अनुसार केवल एक पटक लकडाउन गर्दैमा यो महामारी नियन्त्रण गर्न कठिन भएको बताइएको छ । रोकथामका उपायहरुबिना कोरोनाभाइरसको दोस्रो लहर धेरै भयावह हुन सक्ने शोधमा उल्लेख छ । हार्वर्ड विश्वविद्यालयमा महामारी विशेषज्ञ र शोधका लेखक मार्क लिपसिचले भने ‘संक्रमण २ कुरा भएमा फैलिन्छ । पहिलो संक्रमित व्यक्ति र दोस्रो कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्ति । जबसम्म विश्वको अधिकांश आवादीमा भाइरस प्रतिरोधी क्षमता विकास हुँदेन तबसम्म ठूलो आवाती यसको चपेटामा पर्ने खतरा कायमै रहनेछ ।’

शोधकर्ताका अनुसार भ्याक्सिन वा उपचारको खोजी नभएको स्थितिमा कोरोनाभाइरसले २०२५ मा फेरि एक पटक विश्वलाई आफ्नो चपेटामा पार्न सक्छ । महामारी विशेषज्ञ मार्कका अनुसार अहिले कोरोनाभाइरस संक्रमणको स्थिति हेर्दा २०२० को गर्मीसम्म महामारी अन्त्यको भविष्यवाणी गर्नु सही होइन । बेलायत सरकारको वैज्ञानिक सल्लाहकार समितिले समेत अस्पतालमा बिरामीको चाप बढ्न नदिन लामो समयसम्म भौतिक दूरी बनाइराख्नुपर्ने आवश्यकता औंल्याएको थियो । समितिले रकारलाई १ वर्षसम्म कहिले कडाइ कहिले थोरै फुकुवा गर्दै सामाजिक दूरीको नियम जारी राख्न सुझाव दिएको थियो ।

अध्ययनका अनुसार नयाँ उपचार, भ्याक्स्नि र स्वास्थ्य सुविधा राम्रो भएको अवस्थामा सामाजिक दूरी आवश्यक पर्ने छैन तर त्यसको व्यवस्था नहुँदासम्म २०२२ सम्म सामाजिक दूरी कायम राख्नुपर्ने हुन सक्छ । अहिलेसम्म कोरोनाभाइरसका केही रहस्य नसुल्झिएकोले अहिल्यै सटिक भविष्यवाणी गर्न नसकिने अध्ययनमा भनिएको छ । शोधकर्ता लिपसिचका अनुसार विश्वले करिब १ वर्षको लागि यो भाइरसबाट सुरक्षा हासिल गर्न सक्छ तर भाइरसविरुद्ध पूर्ण सुरक्षा हासिल गर्न कैयौं वर्ष लाग्न सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *