जुमका ५ लाखभन्दा बढी प्रयोगकर्ताका गोप्य डाटा चोरी, डार्क वेबमा बिक्रीमा

डिसी नेपाल
३ वैशाख २०७७ १६:५३

एजेन्सी । तीव्र रूपमा लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जुमका प्रयोगकर्ताहरुको डाटा ह्याकरले चोर्न सफल भएका तथ्य बाहिर आएको छ । जुम प्रयोगकर्ताको साइबर सुरक्षाको विषयमाथि प्रश्न उठिरहेका बेला एउटा डरलाग्दो तथ्य बाहिर आएको हो।

जुमका ५ लाखभन्दा धेरै प्रयोगकर्ताका पासवर्ड तथा अकाउन्टसँग सम्बन्धित अन्य विभिन्न डाटाहरू ह्याकरहरूले चोरी गरी डार्क वेबमा बिक्रीमा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकी साइबर सेक्युरिटी कम्पनी साइबल (Cyble)ले गत अप्रिल १ मा ह्याकर फोरममा त्यसरी जुम प्रयोगकर्ताका विवरणहरू बिक्रीमा राखिएको तथ्य पत्ता लगाएको प्रविधि सम्बन्धी समाचार साइट ब्लीपिङ कम्प्युटर (Bleeping Computer)ले उल्लेख गरेको छ।

रिपार्टका अनुसार ५ लाख ३० हजार जुम प्रयोगकर्ताका विवरणहरू ०.००२ डलर प्रति प्रयोगकर्ताको दरमा बिक्रीमा राखिएको थियो । कतिपय अकाउन्ट डिटेलहरू त सित्तैमा सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका त्यस्ता विवरणहरूमा पर्सनल मिटिङ युआरएल देखि इमेल एड्रेस र पासवर्ड लगायतका रहेका छन् ।

ह्याकरहरूले जुम प्रयोगकर्ताका यूजरनेम तथा पासवर्ड ह्याक गर्नका लागि अन्य विभिन्न प्लाटफर्महरूबाट लिक भएका प्रयोगकर्ताका विवरणहरूको दुरूपयोग गरेको बताइएको छ । एक भन्दा बढि प्लाटफर्महरूमा एउटै युजरनेम तथा पासवर्ड राखेका अधिकांश जुम प्रयोगकर्ताहरू ह्याकरको निसानामा परेका छन् ।

बिक्रीमा राखिएका जुम प्रयोगकर्ताका विवरणहरू अनधिकृत व्यक्तिले खरीद गरिसकेपछि जुम बम्बिङ्ग लगायतका अन्य नकारात्मक गतिविधिहरूमा दुरूपयोग गर्नसक्ने बताइएको छ ।

जुम बम्बिङ्ग भनेको यस्तो क्रियाकलाप हो जहाँ जुम एपमार्फत भिडियो कन्फ्रेन्सिङ चलिरहेको बेला अनधिकृत व्यक्ति भर्चुअल मिटिङमा जबरजस्ती प्रवेश गर्दछ र भिडियो कलमा रहेका व्यक्तिहरूलाई लगातार पोर्न सामाग्री लगायतका आपत्तिजनक सामाग्री प्रदर्शन गर्दछ ।

ह्याकमा परेका जुम अकाउन्टमध्ये कतिपय साइबल (Cyble)का ग्राहकहरूकै भएका कारणले पनि उक्त कम्पनीले जुम प्रयोगकर्ताका अकाउन्टहरू ह्याक भएको विवरण पुष्टि गर्न सहज भएको बताएको छ । साइबल (Cyble)ले सबै जुम प्रयोगकर्तालाई तत्कालै आफ्नो युजरनेम तथा पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

लोकप्रिय च्याट एप जुम धेरै व्यक्तिहरूबीचको सामूहिक भिडियो कलिङका लागि निकै उपयोगी प्लाटफर्म हो । यतिबेला कोरोनाभाइरसको कारण लकडाउन भएको बेलामा यो प्लाटफर्म तीव्र रूपमा लोकप्रिय बनिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *