परिमल सर जानु भयो !

डिसी नेपाल
९ वैशाख २०७७ १५:४९

मैले चिनेको परिमल सर याने डा. विष्णुप्रसाद पौडेल नफर्किने गरी जानु भएको समाचार सामाजिक सञ्जालमा उहाँ जानु भएकै दिन अप्रिल १४, २०२०मा पढेर दुःख लाग्यो । म र मेरा श्रीमान एन्थनीको उहाँसँग अन्तिम भेट १९९९को अप्रिल महिनामा उहाँकै निवासमा भएको थियो । हामी उहाँको घरभन्दा १० मिनेट टाढा बस्न पुगेका रहेछौं, १९९४ नोभेम्बर महिनामा । उहाँको छेउछाउ याने डिसीको वरिपरि कोही नेपाली आए भने खोज खबर गर्नु हुँदोरहेछ । यही क्रममा उहाँ हामीलाई खोज्दै आउनु भएको रहेछ । म धनकुटाकी भन्ने वित्तिकै उहाँले मलाई चिनिहाल्नु भयो ।

मेरो बाको नाम लिएर फलानाका छोरी हौ भन्नुभयो । अंग्रेजजस्तो लाग्ने मान्छेले नेपाली बोल्दा म पनि छक्क परेँ । कुरा गर्दै जाँदा उहाँ त मेरो धनकुटा डिग्री कलेजका प्रिन्सिपल परिमल सर हुनुहुँदो रहेछ । घरभित्र बोलाएँ । प्रमिला भाउजु र सर गाडीमा आउनु भएको रहेछ । एन्थनी पनि कामबाट आइपुगे । हामी त्यहाँ भएको उहाँहरुलाई कसरी थाहा भयो भन्ने हामीलाई उत्सुकता भयो । हाम्रो घर किनाइदिने महिलासँग उहाँहरुको भित्रता रहेछ । हाम्रो ४ वर्षको मेक्लेन भर्जिनिया बसाँइका क्रममा परिमल सर र प्रमिला भाउजु हाम्रा अभिन्न अभिभावक सहयात्री रहनुभयो ।

डा. दुर्गा पोख्रेल

उहाँको घरमा भागवत गीता प्रवचनदेखि अन्य आध्यात्मिक सत्संगत हुन्थे । हाम्रा तीनवटा साना बच्चाले गर्दा हामी हप्तैपिच्छे जान सकेनौं । उहाँ विभिन्न संघ स्ंस्थामा आवद्ध हुनुहुन्थ्यो । त्यसमध्ये एउटामा चाहिँ आमन्त्रित सदस्यमात्र हुन पाउने भनी हामीलाई आमन्त्रित गर्नुभएको थियो । तर, हाम्रो व्यस्तताको कारण हो कि औपचारिक सदस्यचाहिं हुन सकेनौं । तापनि आलोपालो गरी कुनै कुनैबेला संलग्न भएका थियौं । एकपल्ट अमेरिका नेपाल समाजको कार्यक्रमा १९९६ मा डिसीबाट प्रकाशित हाम्रो किताब स्याडो ओभर सांग्रिलाबारे हामी दुबैजनालाई बोल्न दिनु भएको थियो । उक्त संस्था डा. पौडेल, न्यूयोर्कका डाक्टर हरि शर्मा र पूर्वी अमेरिकाका नेपालीहरु मिलेर बनाएको भन्ने थाहा पायौं ।

त्यतिबेलाका सदस्यहरु प्राय सबै आ–आफना राम्रा पेशामा संलग्न थिए रे । त्यसको दुई वर्षपछि हामी सधैंका लागि नेपाल फर्कने भयौं भन्न उहाँका घर गयौं । हामी नेपाल फर्कने सुनेर सरले सल्लाह दिनु भयो । ‘यो मकलनको घरचाहिँ नबेची जानु । यो घर भाडामा लगाए आफैं तिर्छ । हामीले सरले दिएको सल्लाह मानी घर भाडामा लगाएर नेपाल फक्र्यौं । मैले १६ वर्ष अगाडि नेपाल छोडेकी थिएँ । कुन शुभ दिनको बोली थियो सरको अहिले सम्झँदा जिन्दगीमा आफ्ना सन्तानका लागि एउटा राम्रो काम गरिएछ भनेको त्यही घर नबेची नेपाल गइएछ नत्र मेरा तीनवटा छोरा घरवारविहिन हुने रहेछन् । म कृतज्ञ छु परिमल सरप्रति ।

२०१३ देखि फेरि म घुम्दै फिर्दै रुम्जाटार भनेझै परिवारसँग बस्न भर्जिनिया आइपुगे । यसपाली मेरो परिवार सरको घरभन्दा दुई घण्टा दक्षिणमा बस्न पुगेका रहेछन् । सरले चौध वर्ष अगाडि नबेच्नु भनेको घर आफ्नै भइसकेछ । भाडाले ऋण तिरेछ । म आए पछि बेच्दा स–साना तीनवटा घर आए तीनवटा छोरालाई । म यो बीचमा स्थिर भएर लामो समय यता बस्न नपाएको अवस्थाले गर्दा सरलाई भेट्न जाने भन्दाभन्दै त्यसै भएछ । भरखरै सरको देहवसानको खबरले साह्रै विह्वल बनाएको छ ।

आधा शताब्दभन्दा बढी भएछ, सर अमेरिका आउनु भएको । उहाँ अमेरिका आउनु अगाडि २०२३/२४ सालतिरै सर धनकुटा डिग्री कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो । म त्यसबेला कलेज पढ्दै थिएँ । विष्णु सर प्रिन्सिपल भएपछि काठमाडौबाट उहाँकी विद्यार्थी विमला गुरुवाचार्यलाई पनि हाम्रो कलेजमा प्राध्यापिका बनाएर लानु भएको बेला हामी महिला विद्यार्थी कति खुसी भएका थियौं । धरानदेखि मोटरको बाटो नभएकाले दुईदिन लगाएर पैदल हिडी जानु पर्ने विकट जिल्लाको कलेजमा पढाउन महिला जानु भनेको दुर्लभ कुरा थियो ।

विसं २०१२ साल साउनमा मोरङ कलेजभन्दा एक हप्ताअगाडि धनकुटाका शिक्षाप्रेमी महानुभावहरुले स्थापना गरेको कलेज २०१३ साल असारसम्म प्राइभेट कलेज थियो । नयाँ शिक्षा साउनदेखि लगाएर सरकारी भयो । भिर गाउँका शिक्षा प्रेमी कर्णेल भक्तबहादुर बस्नेतले झापाको एक सय विघा जग्गा कलेजका नाममा दर्ता गरिदिनु भएकाले हाम्रो कलेज धनी मानिन्थ्यो । त्यसैले धनकुटाका शिक्षा प्रेमी अभिभावक सञ्चालक समितिका व्यक्तिहरुले योग्य र क्षमतावान शिक्षकहरु विभिन्न ठाउँबाट ल्याउने गरेका थिए । विष्णु सरभन्दा अघिल्ला प्रिन्सिपल कालीप्रसाद रिजाल र म स्कुल हुँदा आनन्ददेव भट्ट, गोकुल पौडेलजस्ता विद्धानहरु धनकुटा कलेजले पाएको हो ।

विष्णुसर हुँदा जनकपुरका शिवनन्दन पाण्डे सर, पटनाका मोहन ठाकुर र अन्य सरहरु हुनुहुन्थ्यो । नेपाली साहित्य पढाउनेचाहिँ कलेज स्थापना भएकोदेखि नै पं. हेमचन्द्र पोखरेल भए पनि विष्णु सर जाँदा हेमचन्द्र कार्की विरामी भएर पढाउने कृष्णप्रसाद वस्ती, पोषराज निरौला, र तुलसी दिवसले पनि पढाउनु भयो । विष्णुसर प्रिन्सिपल हुँदा कलेजको शिक्षालाई गुणस्तरीय बनाउनु भएको हो । हाम्रो परीक्षाको नतिजाले देखाएको थियो । एक दिन मेरा पिताजीले कलेजका सबै शिक्षकहरुलाई हाम्रो घरमा हरिया मकै खान बोलाउनु भयो थियो । आगनमा पोलेका हरिया मकै भण्टाको तरकारी काक्रो र मोही खाएको सम्झना मसँग भर्जिनियामा भेट हुँदा पनि परिमल सर गर्नु हुन्थ्यो ।

परिमल सर कवि पनि हुनुहुन्थ्यो । उहाँको परिमलका कविता संग्रह दिनु भएको थियो । तर, यो आउनेबेला भेटिएन । मेरो चाङमा कता हराएछ ।

हाम्रा गाउँका धेरै जसो कविता लेख्दथे । परिमल सर मेरा पिताजी, कविराज नरपाल पौडेल हेमचन्द्र पोखरेल काका, विश्वनाथ पौडेल दाइ, उहाँका छोरा उपेन्द्र सबैले आआप्mना कविता वाचन गरेका थिए हाम्रो घरमा । हाम्रा भारतीय सरहरुले खुसीले दंग परी अन्य कविका कविता हिन्दीमा बाचन गरेका थिए । अनायास यस्तो कवि गोष्ठी कसैका घरमा भएको छैन । मलाई थाहा छैन । तापनि विष्णु सरका घरमा पनि आध्यात्मिक प्रवचन भइरहेका हुन्थे । भारतीय र अमेरिकीहरु बढी संलग्न हुन्थे अरे । आफ्ना गुरुकोमा यी रोचक स्मरणहरु कोर्न पाउँदा खुसी लागेको छ । आधा शताब्दी भनेको पनि अंकमात्र रहेछजस्तो लाग्न थाल्यो मलाई अब । सम्झदा यी घटना हिजै घटेको जस्तो लाग्दो रहेछ । श्रद्वेय विष्णु सरको आत्माले शान्ति पाओस् । शोक सन्तप्त परिवामा हार्दिक समवेदना । अब १३ दिनमा पनि सरको घरमा जान सकिने परिस्थिति देखिदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *